डेंगुको महामारीसँगै नेपालमा उस्तै लक्षण देखिने चिकनगुनियाँको जोखिम बढे पनि सरकारले परीक्षणमा ध्यान नदिँदा यो रोग ‘लुकेको महामारी’ बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।
डेंगुको जस्तै ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिए पनि यसले वर्षौंसम्म जोर्नी दुख्ने र मुटु तथा स्नायु प्रणालीमा गम्भीर असर पार्ने भएकाले यसलाई बेवास्ता गर्न नहुने उनीहरूको भनाइ छ।
नेपालमा सन् २०१३ देखि नै चिकनगुनियाँको संक्रमण पुष्टि भए पनि सरकारले यसको परीक्षणलाई प्राथमिकतामा राखेको छैन। सीमित अस्पतालबाट आउने फाट्टफुट्ट रिपोर्टका आधारमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्ने अत्यन्तै सीमित परीक्षणले वास्तविक अवस्थाको चित्रण नगर्ने विज्ञहरू बताउँछन्।
‘चीनमा जस्तो महामारी नभए पनि नेपालमा हरेक वर्ष चिकनगुनियाँका बिरामी देखिएका छन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘तर परीक्षण नै नभएका कारण संक्रमितको संख्या अत्यन्तै थोरै देखिन्छ।’
डेंगुको छायामा चिकनगुनियाँ
डेंगु र चिकनगुनियाँ एउटै लामखुट्टे (एडिस एजिप्टाइ) ले सार्ने र लक्षण पनि उस्तै हुने भएकाले सरकारको ध्यान डेंगु नियन्त्रणमा मात्र केन्द्रित भएको सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्।
‘डेंगु जस्तै लक्षण देखिने कारणले पनि सरकार डेंगु परीक्षणमा केन्द्रित भयो, चिकनगुनियाँ उपेक्षामा पर्यो,’ उनले सुनाए, ‘यदि डेंगुको जस्तै परीक्षण गर्ने हो भने नेपालमा संक्रमितको संख्या धेरै भेटिन सक्छ।’
इडिसिडिको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहाल पनि हालको परीक्षण शैलीका कारण संक्रमितको संख्या कम देखिएको हुन सक्ने स्वीकार गर्छन्। उनका अनुसार, गत वर्ष ५० जनाभन्दा कममा मात्र संक्रमण पुष्टि भएको थियो भने यो वर्ष कुनै परीक्षण नै भएको छैन।
‘छिमेकी राष्ट्रमा महामारीको रूप लिएकाले नेपालमा जोखिम बढेको छ,’ डा. दाहालले भने।
चिकित्सकहरूका अनुसार चिकनगुनियाँको ज्वरो र दुखाइ दुई हप्तामा निको भए पनि यसको असर दीर्घकालीन हुन्छ। संक्रमण भएको दुई-तीन वर्षसम्म पनि जोर्नीहरूमा चर्को दुखाइ रहन्छ, जसलाई धेरै बिरामीले ‘बाथरोग’ भन्ने भ्रम पालेका हुन्छन्।
‘मुख्य कुरा, यसले लामो समयसम्म जोर्नी दुखाउँछ र मुटु तथा स्नायु प्रणालीमा पनि असर गर्छ,’ डा. पुनले भने। डेंगुले तत्कालै गम्भीर असर देखाए पनि चिकनगुनियाँले पछि गएर स्वास्थ्यमा जटिलता ल्याउने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने चिकित्सकहरूको सुझाव छ।
डा. बास्तोलाका अनुसार चिकनगुनियाँको बढ्दो जोखिमबाट बच्न तत्काल दुईवटा काम गर्न आवश्यक छ। पहिलो, परीक्षणको दायरा बढाउने। डेंगुको लक्षण देखिएका सबै बिरामीको चिकनगुनियाँ परीक्षण पनि अनिवार्य गर्नुपर्ने उनी सुझाउँछन्।
दोस्रो, लामखुट्टे नियन्त्रण। डेंगु र चिकनगुनियाँ सार्ने लामखुट्टेको बासस्थान ‘खोजी र नष्ट’ गर्ने अभियानलाई हरेक नागरिक, टोल र कार्यालयले नियमित रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
विज्ञहरूले डेंगुसँगै चिकनगुनियाँ पनि नेपालमा नियमित रोगको रूपमा स्थापित भइसकेकाले यसको नियन्त्रणमा सरकारी निकाय र हरेक नागरिकको उत्तिकै दायित्व रहेकोमा जोड दिएका छन्।
यो पनि पढ्नुहोस्
चीनमा महामारीकाे रुप लिँदै गरेकाे चिकुनगुनिया के हाे ? कसरी बच्ने ?
प्रकाशित: २२ श्रावण २०८२ १८:४५ बिहीबार