केही समय अघिसम्म टिचिङ तथा अन्य सरकारी अस्पतालमा युरोलोजीका विभिन्न समस्यामा एउटै इकाइबाट सेवा प्रदान गरिन्थ्यो। पछिल्लो समय भने अस्पतालको युरोलोजी विभागले यो अभ्यासलाई तोड्दै नयाँ स्वरूपमा सेवा प्रदान दिन सुरु गरेको छ।
अस्पतालको युरोलोजी विभागका अनुसार युरोलोजी विभागभित्रै अति विशिष्टीकृत इकाइबाट सेवा दिन सुरु गरेको हो। अहिले यो अस्पतालमा युरोलोजीका भिन्न समस्याका बिरामीले भिन्नै बहिरंग विभाग या इकाइबाट सेवा लिन पाउने भएका छन्।
अस्पतालको युरोलोजी विभागका युरोलोजिस्ट डा. भोजराज लुइँटेलका अनुसार विभागले साताको दुई दिन युरोअन्कोलोजी (क्यान्सर) सेवा दिन्छ। यो सेवा युनिट एक र युनिट दुईमार्फत सातामा दुई दिन दिइन्छ। त्यसैगरी पिडियाट्रिक युरोलोजी इकाई पनि सुरु भइसकेको छ। यो युनिटको नेतृत्व डा. सुजित पौडेलले गरेका छन्।
भदौको पहिलो सातादेखि मेन हेल्थ क्लिनिकबाट पुरुष स्वास्थ्य सेवा सुरु भएको छ। यो सेवाअन्तर्गत पुरुषका लागि यौन समस्यासम्बन्धी परामर्श तथा उपचार प्रदान हुन्छ। त्यसैगरी प्रोस्टेट क्यान्सरसम्बन्धी नेतृत्व पनि युरोलोजी विभागले गरेको छ। बाँझोपना तथा नपुसकतासम्बन्धी महिला तथा पुरुषको समस्याको सेवा पनि यही विभागबाट दिन सुरु भएको छ। केही समयमै युरोलोजीमा रोबटिक सर्जरी सेवा दिने तयारी भइरहेको छ। त्यसैगरी अस्पतालमा आधुनिक रेडियोथेरापी मेसिन ल्याउने प्रक्रिया पनि अघि बढेको जनाइएको छ।
रोबटिक सर्जरीमार्फत अंगको भित्री भागमा भएका क्यान्सरको तन्तुको शल्यक्रिया गर्ने र त्यस्तो अप्ठेरो भागमा गरिएको शल्यक्रियापछि सिलाउने काम पनि रोबटिक सर्जरी मेसिनबाट सम्भव हुन्छ। यो सेवाले भित्रका साना अंगमा लागेको क्यान्सर अप्ठेरो ठाउँमा निकाल्नुपरेमा र सिलाउनु परेमा रोबर्टले भित्रै सिलाइदिन्छ। यो सेवा आगामी वर्षभित्रै ल्याउने गरी प्रक्रिया अघि बढेको लुइँटेलले जानकारी दिए।
निजी अस्पतालमा यो सेवा केही समय पहिला नै सुरु भए पनि टिचिङले पहिलो पटक सुरु गर्न लागेको हो। युरोलोजीको शाखाअनुसार अति विशिष्टीकृत सेवा भिन्न इकाइबाट प्रदान गर्दा बिरामी र चिकित्सक दुवैलाई सहज हुन्छ। जनरल युरोलोजीलाई विशिष्टीकृत रूपमा प्रदान गर्न दुई वर्षदेखि विभागले प्रयास गरी कार्यान्वयनमा उतार्न सुरु गरेको लुइँटेल बताउँछन्। ‘भिन्न इकाइबाट सेवा दिँदा बिरामीलाई कता कुन समयमा जाने भन्ने अलमल हुँदैन,’ उनले भने।
प्रकाशित: ११ कार्तिक २०८२ ०८:२८ मंगलबार





