हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणका अभियान सञ्चालन भइरहे पनि नेपालमा स्कुले विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो चिन्ताको विषय बनेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अध्ययनले १३ देखि १५ वर्ष उमेर समूहका १७.५ प्रतिशत स्कुले विद्यार्थी कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको देखाएको छ।
परिषद्को ‘ग्लोबल युथ टोबाको सर्वे नेपाल–२०२५’ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। सन् २०११ द्येखि १४ वर्षको अन्तरालमा गरिएको यो सर्वेक्षणको विस्तृत प्रतिवेदन सार्वजनिक हुने तयारीमा रहेको परिषद्ले जनाएको छ। विद्यालय तहका विद्यार्थीमा सुर्तीजन्य पदार्थ प्रयोगको बदलिँदो अवस्था अध्ययन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो।
प्रतिवेदनअनुसार विद्यार्थीहरूमा सबैभन्दा बढी नयाँ स्वरूपका सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको पाइएको छ। सिसा तथा हुक्का सेवन गर्नेको संख्या ७.१ प्रतिशत रहेको छ भने इ–सिगरेट (भेप) प्रयोग गर्नेको संख्या ७.३ प्रतिशत छ। परम्परागत चुरोट सेवन गर्ने विद्यार्थी ३.६ प्रतिशत छन् भने धुवाँरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या ५.६ प्रतिशत रहेको छ।
सर्वेक्षण कक्षा ७ देखि १० सम्म अध्ययनरत सवै वर्ष उमेर समूहका विद्यार्थीमाझ गरिएको थियो। सातै प्रदेशका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी उक्त अध्ययनमा सहरी तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेटिएको थियो। छात्र र छात्राको सहभागिता पनि लगभग समान रहेको जनाइएको छ।
अध्ययनले १४ वर्षको अवधिमा विद्यार्थीहरूमा सुर्ती सेवनको स्वरूप परिवर्तन भएको देखाएको छ। अनुसन्धानकर्ता कुुसुम शाहीका अनुसार परम्परागत चुरोट र बिँडीजस्ता सुर्तीजन्य पदार्थको प्रयोग क्रमशः घट्दै गए पनि नयाँ स्वरूपका उत्पादनको प्रयोग तीव्र रूपमा बढिरहेको छ।
तथ्यांक अनुसार १३ देखि १५ वर्षको उमेरमा हेर्दा सन् २०११ मा अन्य सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विद्यार्थीको संख्या ६ प्रतिशत थियो भने सन् २०२५ मा यो ५.६ प्रतिशतमा झरेको छ। त्यस्तै, सन् २०११ मा चुरोट प्रयोग दर ३.१ प्रतिशत रहेकामा अहिले २.६ प्रतिशतमा पुगेको छ। तर नयाँ स्वरूपका सुर्तीजन्य पदार्थको प्रयोग बढेकाले समग्र रूपमा विद्यार्थीमा सुर्ती सेवन घट्नुको सट्टा बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
“परम्परागत सुर्तीजन्य पदार्थको प्रयोग घट्ने क्रममा छ, तर नयाँ सुर्तीजन्य उत्पादनहरूको प्रयोग बढिरहेको छ,” अनुसन्धानकर्ता शाहीले भनिन्।
नयाँ स्वरूपका सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विद्यार्थीमध्ये ४०.२ प्रतिशतले परिवार वा साथीभाइको प्रभावका कारण प्रयोग सुरु गरेको बताएका छन्। त्यस्तै १७.९ प्रतिशतले जिज्ञासावश सेवन गर्न थालेको उल्लेख गरेका छन्। १२.८ प्रतिशतले यस्ता उत्पादनले चुरोटको तुलनामा स्वास्थ्यमा कम हानि पु¥याउँछन् भन्ने धारणा राखेर प्रयोग गरेको पाइएको छ।
“६.८ प्रतिशत विद्यार्थीले भेप र हुक्काले स्वास्थ्यमा चुरोट सेवनवाट छुटकारा पाउन मद्दत गर्ने कारण सेवन सुरु गरेको देखिन्छ,” शाहीले बताइन्।
प्रतिवेदनअनुसार पहिलो पटक सुर्तीजन्य पदार्थ प्रयोग गर्ने प्रयास गर्नेहरूमध्ये २७.४ प्रतिशतले उमेर ७ वर्षभन्दा कम हुँदा थियो। सबैभन्दा बढी ४१.५ प्रतिशतले १० वर्ष नपुग्दै सुर्ती प्रयोगको प्रयास गरेका थिए। १० देखि १३ वर्ष उमेर समूहका करिब २० प्रतिशत विद्यार्थीले पनि पहिलो पटक यही अवधिमा सुर्ती प्रयोग गरेको बताएका छन्।
सर्वेक्षणले दोस्रो दर्जाको धूम्रपान (सेकेन्ड ह्यान्ड स्मोक) को प्रभाव पनि उच्च रहेको देखाएको छ। प्रतिवेदनअनुसार ३८.१ प्रतिशत विद्यार्थी घरभित्र, ७६.८ प्रतिशत सार्वजनिक स्थानमा र ३४.७ प्रतिशत विद्यालय परिसरभित्र धूम्रपानको धुवाँको सम्पर्कमा परेका छन्।
विद्यार्थीहरूले सुर्तीजन्य पदार्थबारे जानकारी सामाजिक सञ्जाल, भिडियो सामग्री, इन्टरनेट तथा निःशुल्क नमूना वितरण गर्ने स्टलमार्फत पाएको बताएका छन्। सहज पहुँच र नयाँ स्वरूपका सुर्तीजन्य उत्पादनको बढ्दो बजारले विद्यार्थीलाई आकर्षित गरिरहेको अनुसन्धानकर्ता शाहीको भनाइ छ।
प्रतिवेदनले विद्यालय उमेर समूहका बालबालिकालाई सुर्तीजन्य पदार्थको लतबाट जोगाउन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको छ।
साथै, यो उमेर समूहलाई सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउने, नयाँ स्वरूपका उत्पादनको बिक्री तथा प्रचार–प्रसार नियन्त्रण गर्ने, विद्यालय आसपास सुर्तीजन्य पदार्थको व्यापार रोक्ने तथा बजार नियमन प्रभावकारी बनाउने नीति अवलम्बन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १८:२४ सोमबार





