भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित मानिसमा डरत्रासजस्ता मनोसामाजिक समस्या देखिन थालेको छ।
अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्यकर्मीका अनुसार बाढीपीडितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले पशमर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढी प्रभावित मानिसमा डरत्रासको समस्या देखिन थालेको छ। ‘कतिपयले कानमा बाढीको आवाज आइरहेको बताउने गरेका छन्,’ उनले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग विभागकी प्रमुख डा. पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब एक हजार प्रभावितमा डरत्रासको समस्या पहिचान भएको बताइन्। विभागले बाढी प्रभावित क्षेत्रमा खटाएका तालिमप्राप्त मनोपरामर्शदाताले दिएको जानकारीका आधारमा उनीहरूमा डरत्रासको समस्या देखिएको हो। ‘होल्डिङ सेन्टरमा रहेका करिब एक हजार जनामा मनोसामाजिक समस्या पाइएको छ,’ थापाले भनिन्। बाढीबाट एक्लो बनेका र आफन्त र सम्पत्ति गुमाएका कारण प्रभावितहरूमा पहिलो तहको आघात देखिएको उनले बताइन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महराजगन्ज काठमाडौंका क्लिनिकल साइकोलोजिस्ट प्राध्यापक डा. सुरज शाक्यका अनुसार यस्तो समस्या दुई–तीन सातापछि अझै बढ्न सक्छ। सुरुको अवस्थामा बाढीका कारण आफ्नो आधारभूत आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्ता, शोक र त्रासमा प्रभावितहरू हुन्छन्। पहिल्यै मानसिक समस्या भएकामा सुरुमै बाढीका कारण थप लक्षण देखिन सक्छ। तर सामान्य व्यक्तिमा केही समयपछि समस्या बढ्न सक्छ। कतिपयमा दुई–चार दिनमै समस्या हराउँदै पनि जान सक्छ।
यस्तो समस्या बढ्न नदिन उनीहरूलाई पहिलो तहमा मनोवैज्ञानिक परामर्श दिनुपर्ने शाक्य बताउँछन्। यो चरणमा प्रभावितको समस्या राम्रोसँग सुन्ने, पहिचान गर्ने र आवश्यकताका लागि समन्वय गर्नेजस्ता सहयोग गर्नुपर्छ। पीडितलाई आफन्तसँग जोडिदिने काम गर्नुपर्छ। यस्तो सहयोगले प्रभावितलाई सहज हुने साइकोलोजिस्ट शाक्य बताउँछन्।
मनोसामाजिक परार्मशले कतिपयमा बिस्तारै एक सातामै समस्या हराउँदै जान सक्छ तर केही प्रतिशत मानिसमा तीन साता वा एक महिनापछि डरत्रास हुने, निद्रा नलाग्ने, खान मन नलाग्नेजस्ता मनोसामाजिक समस्या देखिन सक्ने शाक्य बताउँछन्। यस्तो समस्या भएका व्यक्तिका लागि सरकारले छुट्टै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ। नसर्ने तथा मानसिक रोग शाखाकी प्रमुख थापाले मानसिक स्वास्थ्यमा काम गरिरहेका सरोकारवाला तथा साझेदार निकाय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अधिकांश होल्डिङ सेन्टरमा तालिमप्राप्त मनोसामाजिक परामर्शदाताको टोली र तीन जना मानसिक रोग विशेषज्ञ पुगिसकेको बताइन्। साथै विभिन्न खालका हटलाइन सेवा सक्रिय रहेको उनले जानकारी दिइन्। होल्डिङ सेन्टरमा परिचालित परामर्शदाताले प्रभावितको आवश्यकता पहिचान गरी गाँस, बास र कपासका लागि समन्वय पनि गरिरहेका छन्।
मानसिक अस्पतालको १११५, ११६६ र १०९८ हटलाइन सेवा तथा कोसिस र टिपिओको आफ्नै हटलाइन सेवा पनि सक्रिय रहेको उनले जानकारी दिइन्। एक महिनापछि कायम रहने सम्भावित डर, चिन्ता र मनोसामाजिक समस्या व्यवस्थापनका लागि सरकारले तयारी गरेको डा. थापाले बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा देखिने मनोसामाजिक समस्याको उपचारका लागि सरकारले घाइतेको उपचारका लागि परिचालन गरेको स्वास्थ्य टोलीसँगै मनोचिकित्सकसमेत परिचालन गरिसकेको बताए।
डा. थापाका अनुसार बाढीका कारण पुल भत्किएर सम्बन्ध विच्छेद भएका कतिपय गाउँमा मनोपरामर्शदाता पुग्न सकेका छैनन्। सकेसम्म त्यस्ता ठाउँमा पनि परामर्शदाता पठाउने प्रयास भइरहेको उनले जानकारी दिइन्।
प्रकाशित: १६ भाद्र २०८३ ०८:४२ मंगलबार





