१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिको अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीले पाँच दिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ। 

अस्पतालमा दैनिक करिब ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब २०० जनालाई मात्र किमो दिन सकिएको छ। किमोका लागि १५० शय्या छुट्याइएको छ। केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई किमो दिने गरिएको छ। 

अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएको समयमा नै किमो दिँदा प्रभावकारी हुन्छ। उनले भने, ‘बिरामीको उच्च चापका कारण समयमा किमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ।’ 

बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उनले बताए। उनले भने, ‘प्रादेशिक अस्पतालहरूमा किमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ।’ बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या तथा जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई किमो दिन नसकिएको उनले बताए। 

अस्पतालले किमो चढाएको एक पटकको रु ५०० शुल्क लिने गरेको छ। किमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ। बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार किमोको मूल्य रु १०० देखि लाखौँ रुपैयाँसम्म पर्ने उनको भनाइ छ।  

अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छ पटकसम्म किमो दिने गरिन्छ। कतिपय बिरामीले तीन वर्षसम्म पनि किमो लगाउनुपर्ने हुन्छ। किमो लगाउनका लागि नेपालभर तथा भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्छन्। लामो समय पालो कुर्नुपरेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन्।

चितवन मेडिकल कलेज (सीएमसी) को भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा किमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ। बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन्। 

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताए। उनले भने, ‘हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आउनुभएको छ।’ 

इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ। जिल्लाका केही निजी अस्पतालले मापदण्ड पूरा नगरी किमो दिने गरेको गुनासो छ। केही बिरामी यहाँ सरकारी अस्पतालमा पालो नपाएपछि भारत, काठमाडौंलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ। 

प्रकाशित: १३ श्रावण २०८३ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App