स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमको विशेष पहल तथा सरोकारवालाको बृहत छलफलबाट आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोके सरहको तलब सेवासुविधा दिन आइतबार लिखित सहमति भयो ।
स्वास्थ्य मन्त्रालयको पहलमा नर्सिङ्ग एशोसिएसन, नर्सिङ्ग काउन्सिल तथा एशोसिएसन अफ प्राइभेट हेल्थ एन्ड इनस्टिच्यूट अफ नेपाल (अफिन)बीच शनिबार अबेर राति निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको कम्तीमा पाँचौ तह अनुसारको तलब सुविधा दिने लगायत ६ बुँदे सहमति भएर सबै पक्ष बाहिरिएका थिए । त्यस लगत्तै केही असन्तुष्ट नर्सले आइतबार बिहानै नेपाल नर्सिङ्ग एशोसिएसनका अध्यक्ष चन्द्रकला शर्माको कार्यकक्षमा घेराउ तथा नाराबाजी गरेपछि नर्सिङ्ग एशोसिएसनले फिर्ता लिएको आन्दोलन पुनः सुरु भएको छ ।
कात्तिक ४ गतेदेखि नर्सिङ्ग एशोसिएसनको नेतृत्वमा सुरु भएको नर्स तथा स्वास्थ्यकर्मीको आन्दोलन शनिबारको सहमतिपछि अन्त्यको घोषणा भएको आइतबार मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीको हस्ताक्षरसहितको विज्ञप्ति जारी भएको थियो । तर आइताबारै साँझ पुनः नेपाल नर्सिङ्ग एशोसिएसनले प्रेस वक्तब्य जारी गरी आफूहरुको आन्दोलन फिर्ता नभएको र निरन्तर कायम रहेको बताइएको छ ।
सहमति अनुसार सरकारले तोकेको तलब सेवा सुविधा दिन सबै निजी स्वास्थ्य संस्थाबाट प्रतिबद्धता जाहेर भएको, हाललाई निजी स्वास्थ्य संस्थाहरुले पनि नेपाल सरकारले तोकेको कम्तिमा पाँचौं तह बराबरको तलब सुविधा कात्तिक महिनादेखि उपब्ध गराउने, त्यसका लागि निजी तथा सामुदायिक अस्पताल, डेन्टल कलेजले नेपाल सरकारले तोकेको कम्तिमा पाँचौं तहको हललाई ८० प्रतिशत बराबरले हुने रकम मासिक तलब स्वरुप कात्तिक महिनादेखि उपलब्ध गराउन सहमत भएका थिए ।
‘समितिले एक महिना भित्र अस्पतालहरुको वर्गीकरण गरी पाँचौं तह बराबरको पारिश्रमिक भुक्तानी कार्य योजना तयार पर्ने सहमति भएको थियो,’ प्रवक्ता बुढाथोकीले नागरिकसँग भने,‘आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरु, नेपा नर्सिङ्ग संघ, अफिन, निजी मेडिकल तथा डेन्टल कलेज एशोसिएसनले उठान गरेको अन्य विषयको विस्तृत अध्ययन गरी समाधानको ठोस कार्य योजना तयार पार्न केही समय लाग्ने भएकोले प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्य अवधि १ महिना थप्ने सहमति भएको थियो । त्यस्तै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको हो । तर पछि फेरि आन्दोलनको घोषणा भएको रहेछ ।’
नर्स तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनले देशभरिका स्वास्थ्य सेवा असहज बन्दै गएको छ । यसले बिरामीहरुको सेवामा नकरात्मक असर परेको उनले बताए ।
प्रकाशित: १७ कार्तिक २०८२ २१:१० सोमबार





-600x400.jpg)