बिउ र माटो दुवै स्वस्थ भए मात्र बिरुवा राम्रो भएर हुर्कन्छन् । यो प्रक्रिया मानव जीवनमा पनि लागु हुन्छ । नेपाली समाजमा पनि पछिल्लो समय विभिन्न कारणले ढिलो विवाह गर्ने र बच्चा पनि ढिलै जन्माउने गरेको देखिन्छ । ढिलो विवाह गरेको दम्पतीबाट शिशुहरू पूरा समय नपुगी जन्मिने क्रम बढ्दो देखिएको प्रसुति रोग विशेषज्ञहरूले औंल्याएका छन् । गर्भ अवधि नपुगी जन्मिएका शिशुहरू मृत्युको जोखिममा हुन्छन् । खासगरी ३० वर्ष नकटेका दम्पतीबाट जन्मिएका बच्चा प्राकृतिक हिसाबले स्वस्थ हुन्छन् भन्ने मान्यता छ । यस हिसाबले ३० वर्ष उमेर कटेर विवाह गर्नुलाई ढिलो विवाह मान्न सकिन्छ । ३० कटेर विवाह गरे पनि करिअर राम्रो बनाउने धुनमा अझ केही वर्षपछि मात्र बच्चा जन्माउने भन्नेतिर कैयौं दम्पती लागेको देखिन्छ ।
प्रसूति गृह अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार पाँच सय १९ वटा अवधि नपुगेका शिशु जन्मिएका छन् । तीमध्ये प्रिटर्म डेलिभरी हुने (२८ देखि ३२ हप्ता नपुगी बच्चा जन्मिने) बच्चाको संख्या सात सय ९४ छ । गत वर्ष यो अस्पतालमा कुल प्रसूति हुनेको संख्या २० हजार नौ सय आठ जना छन् । यो हिसाबले अवधि नपुगी जन्मिने शिशु ४ प्रतिशत छन् । तर यो दर अन्य बर्थिङ सेन्टरमा बढी हुन सक्ने अनुमान गरिएको छ । चिकित्सा पद्धतिअनुसार स्वस्थ शिशु हुन ४० साता गर्भभित्रै हुनुपर्छ । चालु आर्थिक वर्षमा यो अस्पतालमा ३२ साता नपुगी (प्रिम्याचुर डेलिभरी) प्रसुति हुनेको संख्या दुई सय ७१ छ ।
महिना नपुगी बच्चा जन्मिने क्रम बढ्दै गएको विज्ञ चिकित्सक तथा तथ्याकंहरूले औंल्यएका छन् । ओम अस्पतालका वरिष्ठ स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमले पछिल्लो वर्षहरूमा यस्तो स्थिति बढ्दै गएको पाइएको बताउँछन । ओम अस्पतालमा मात्र अवधि नपुगी प्रसुति हुनेको संख्या (३७ साता पहिल्यै जन्मिने शिशुको संख्या) ८ देखि १० प्रतिशत छ भने ३८ साता नपुगी जन्मिनेको संख्या १५ प्रतिशतभन्दा बढी छ । अवधि नपुगी प्रसूति हुने क्रम बढ्दै गएको डा. गौतम बताउँछन् । पछिल्लो समय विभिन्न कारणले ढिला बच्चा जन्माउँदा यस्तो स्थिति बढेको उनको भनाइ छ । ‘आधुनिक उपचार पद्धतिपछि बढ्दै गएको छ,’ उनले भने । ढिलो विवाह र बढी उमेरमा आमा बन्दा महिना नपुगी जन्मिने क्रम विकसित देशमा ठुलो संख्यामा रहेको चिकित्सक औल्याउँछन् ।
अवधि नपुगी बच्चा जन्मनुका कारण
वैदेशिक रोजगारीका कारण जोडी छुट्टिएर बस्ने, ढिलो विवाह गर्ने र ढिलो आमा बन्ने प्रवृत्ति बढ्दै जाँदा उमेर नपुगी जन्मिने शिशुहरूको दर बढ्दै गएको डा. जागेश्वर गौतमको भनाइ छ । पहिला प्राकृतिक रूपमा समयमै बच्चा जन्माउँदा एउटा मात्र बच्चा जन्मिने गर्थे भने अहिले टेस्टट्युब बेबी, कृत्रिम गर्भाधान, ढिलो उमेरमा बच्चा जन्माउने जस्तो समय नपुगी जन्मिने क्रम बढ्दो छ । ढिलो उमेरमा विवाह, बढी उमेरमा गर्भवती हुने प्रवृत्तिले यस्तो जन्म बढेको प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् ।
उमेर बढ्दै जाँदा शरीरको प्रजनन अंगको क्षमता पनि घट्दै जान्छ । महिलाको पाठेघरमा संक्रमण हुनु, ट्युमर पलाउनु, महिलामा थाइराइड, मधुमेह र उच्च रक्तचापजस्ता रोगहरू देखिने कारणले ढिलो उमेरमा गर्भ बसे समय नपुगी बच्चा जन्मिने सम्भावना बढी हुन्छ । चिकित्सकका अनुसार कृत्रिम गर्भधान, महिलाहरूको सम्पूर्ण स्वास्थ्यमा आउने समस्याले पनि समयअघि नै प्रसूति हुन्छन् । केही दशकयता नेपालमा कृत्रिक गर्भधान गरी बच्चा जन्माउने चलन बढेको छ । कृत्रिम गर्भाधानका क्रममा एकैपक दुई÷तीन वटा बच्चा राखिन्छ । यसो गर्दा जुम्ल्याहा बच्चा जन्मन्छन् । पाठेघरमा दुई वटा बच्चा बस्ने ठाउँ नपुग्ने हुँदा पहिल्यै जन्मिन्छन् या निसासिने डरले पहिला नै शल्यक्रिया गरेर निकालिन्छ । पाठेघरभित्र ट्युमर पलाउँदा पनि ठाउँ नपुगेर अवधि नपुगी बच्चा जन्मिन्छन् । यसबाहेक आमाको स्वास्थ्यमा उच्च रक्तचाप, थाइराइड या मधुमेह बढे पनि अवधि नपुगी बच्चा जन्मिन्छन् । यस्तो स्वास्थ्य समस्या पनि उमेर पुगेका महिलाहरूमा नै हुन्छ ।
मृत्युको उच्च जोखिममा नवजात शिशु
अवधि नपुगेका शिशु जन्मेपछि बचाउन भने मुस्किल पर्ने चिकित्सक बताउँछन् । प्रसूति गृहका निर्देशक अधिकारीका अनुसार २४ साताभन्दा कम उमेरका बच्चा बाँच्नै सक्दैनन् । ३२ सातामुनिकालाई बचाउन मुस्किल पर्छ । ३२ साताभन्दा बढीका शिशुलाई भने कम जोखिम हुन्छ । तर अवधि नपुगी जन्मेका सबै शिशु मृत्युको जोखिममा हुन्छन् । गत वर्ष प्रसूति गृहमा एक सय ३४ जना नवजात शिशुको मृत्यु भएको थियो । मृत्यु हुने शिशुहरूमा धेरैजसो समयअघि नै जन्मेका शिशु रहेको अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन् ।
उनका अनुसार कम संख्यामा इकाल्सिया भन्ने रोग लागेर, रक्तश्राव भएर या सालनाल पहिल्यै निस्किएर बच्चाको मृत्यु हुने गरेकोमा मुख्य कारणचाहिँ अवधि नपुगी बच्चाको जन्म हुनु नै हो ।
पूरा अवधि नपुगी जन्मेका शिशुमा शरीरका सबै अंगको विकास राम्रोसँग नहुने भएकाले बाहिरी वातावरणमा सजिलै समायोजन हुन नसक्ने चिकित्सकहरू बताउँछन् । यस्ता शिशुको छालामा बोसो भरिएको हुँदैन, कलेजो, फोक्सोको पनि राम्रो विकसित भएको हुँदैन । ३२ साताभन्दा कम उमेरका बच्चामा सुगर घट्ने, हाइपोथ्रमिया हुने, ग्लुकोज धान्न नसक्ने, कलेजो पनि विकसित नहुने, फोक्सो पनि कमजोर हुने हुनाले जन्मिनेबित्तिकै स्याँस्याँ या घ्यारघ्यार गर्ने समस्या देखिन्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकाले सजिलै संक्रमण हुने, तापक्रम सामना गर्न नसक्ने हुन्छन् । चिसो तापक्रम सामना गर्न नसक्ने शिशुललाई हाइपरथर्मिया हुन्छ । यस्ता शिशुको केही दिन विशेष हेरचाह आवश्यक पर्छ । उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
दिगो विकासको लक्ष्यमै चुनौती
सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा नवजात शिशुको मृत्युदर प्रतिएक हजारमा २१ जना छ । यो दर सन् २०१६ देखि स्थिर छ । आगामी चार वर्षभित्र सरकारले प्रतिहजार जन्ममा १० मा झार्ने लक्ष्य हो । अहिलेको समयअघि नै जन्मिने दरले मृत्युदर घटाउने लक्ष्यमा चुनौती थपिएको प्रसूति गृहका नवजात शिशु विशेषज्ञ डा. शैलेन्द्रवीर कर्मचार्यले बताए ।
‘सरकारले अन्य सेवामा सुधार गरेको छ । समय नपुगी जन्मिने शिशु र उनीहरूको मृत्यु अबको चुनौती देखिन्छ,’ उनले भने । समयमा मेटोवोलिक डिअस्डरको परीक्षण र उपचार, समयअघि जन्मिने शिशुको विशेष हेरचाह, युनिटको विस्तार गरे नवजात शिशुको मृत्युदर घटाउन सकिने अस्पतालका नवजात शिशु विशेषज्ञ डा. प्रज्जवल पौडेलले बताउँछन् । आधारभूत अस्पतालमा तालिम वार्मिङ कोठाको व्यवस्थापन । प्रादेशिक तथा संघीय अस्पतालहरूले नवजात शिशु केयर युनिटको विस्तारको आवश्यकता उनले औंल्याए ।
प्रकाशित: २५ पुस २०८२ २०:३० शुक्रबार





