१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहाकाे लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ।

रगतको अभावमा बिरामीले भोग्नु परिरहेको सास्तीलाई दृष्टिगत गर्दै लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाताका परिवारबीच सोमबार त्रिपक्षीय समन्वयमा यो परियोजना अघि बढाइएको हो।

ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौता भएको छ। यसका लागि लहान(१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमति भएको हो।

भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ भने उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिनेछ।

यसैगरी, लायन्स क्लबले ब्लड बैंकका लागि आवश्यक पर्ने रु एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरणहरू उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापना यस क्षेत्रको स्वास्थ्य उपचारमा एउटा ठूलो उपलब्धि हुने बताए। “लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या थियो”, उनले भने, “हाम्रो प्राथमिकता नागरिकको स्वास्थ्य हो र यो ब्लड बैंकको स्थापनाले आपतकालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्या जरैदेखि समाधान गर्नेछ।”

दाता पक्षका तर्फबाट मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाउनु गौरवको विषय भएको बताए। उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडबाडी सेवा सदनजस्ता संस्थाको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

“हाम्रो परिवारले शिक्षा र स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ”, मुरारकाले भने, “अन्तर्राष्ट्रियस्तरको ब्लड बैंक निर्माणपछि हामी अन्य सामाजिक क्षेत्रमा पनि सहयोग जारी राख्नेछौँ।”

यो केन्द्र सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्ला सप्तरी, धनुषा र उदयपुरका बिरामीले प्रत्यक्ष लाभ पाउनेछन्। 

प्रकाशित: १७ चैत्र २०८२ ०६:३२ मंगलबार