जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले आफ्नो भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनबाट आफ्नो कामकारबाही सुरु गरेको छ।
तत्कालका लागि अत्यावश्यक सेवा प्रवाह गर्न अस्थायी रूपमा कार्यालय स्थापना गरिए पनि पर्याप्त कार्यकक्ष अभावका कारण मन्त्रालयले स्थायी समाधानका लागि वैकल्पिक भवनको खोजी गरिरहेको छ।

गत भदौ २३ र २४ गते राजधानीमा भएको प्रदर्शनका क्रममा मन्त्रालयको भवनमा आगजनी हुँदा त्यो पूर्ण रूपमा क्षतिग्रस्त भई काम गर्न नमिल्ने अवस्थामा पुगेको थियो।
स्वास्थ्य मन्त्रालय समन्वय शाखाका जनस्वास्थ्य अधिकृत समिर कुमार अधिकारीका अनुसार, पुरानो र जीर्ण भइसकेको भवन जलेपछि मर्मत गरेर पुनः प्रयोग गर्न सकिने अवस्था छैन।
‘हालका लागि अनुसन्धान परिषद्को भवनबाट काम सुरु गरेका छौं, तर यहाँ पर्याप्त कार्यकक्षहरू छैनन्,’ अधिकारीले भने, ‘हामी सिंहदरबारभित्रै कुनै खाली भवनमा सर्ने वा नयाँ भवन निर्माण गर्ने विकल्पमा छलफल गरिरहेका छौं।’

मन्त्रालयको आफ्नै भवन नबनुन्जेलसम्मका लागि सिंहदरबारभित्रै रहेको कुनै खाली भवनमा सरेर सेवा प्रवाहलाई सहज बनाउने तयारी भइरहेको उनले जानकारी दिए।
प्रकाशित: २ आश्विन २०८२ १५:१६ बिहीबार





