खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीको अवस्थाका बारेमा जानकारी लिन वीरगञ्जका विभिन्न अस्पतालमा पुगेका छन् ।
वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालमा उपचाररत हैजाका बिरामीको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्षरूपमा जानकारी लिएको मन्त्री यादवले बताए ।
उनले भने,‘आज म वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेको छु । हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ ।’
यसैगरी मन्त्री यादवले आफ्नो विशेष निर्देशनमा, अहिले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धीकरण गर्न ‘पियुष’ लगायतका आवश्यक सामग्रीसहितको मोबाइल टोली परिचालन गरिएको बताए । टोलीले पानीको परीक्षण कार्य तीव्र रुपमा अघि बढाइरहेको पनि उनले बताए ।
मन्त्री यादवले स्थानीय अधिकारीसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपाय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिएका छन् ।
उनले भने, ‘हैजा नियन्त्रण गर्न हामी संवेदनशील छौँ । हामी सबैको सहयोग, सतर्कता र सचेतनाबाट यो समस्या चाँडै नियन्त्रणमा आउने मैले विश्वास लिएको छु ।’
मन्त्री यादवले उमालेर मात्र पानी पिउन, साबुन पानीले हातधुन, खानेकुरा राम्रोसँग पकाएर मात्र खान सबै समुदायलाई आग्रह गरेका छन् ।
प्रकाशित: ७ भाद्र २०८२ १८:४७ शनिबार




-600x400.jpg)
