४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

निःशुल्क भनिएको औषधि बिरामीले ‘किनेर ल्याएको’ भनेपछि स्वास्थ्यमन्त्री चकित

नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीले सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधि समेत पैसा तिरेर किन्नुपरेको गुनासो गरेपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल चकित परेका छन्।

वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको अवस्था निरीक्षण गर्न सोमबार नारायणी अस्पताल पुगेका मन्त्री पौडेलले बिरामीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने क्रममा यो तथ्य फेला पारेका हुन्।

अस्पतालको आकस्मिक कक्षमा बिरामीको अवस्था बुझ्ने क्रममा एक बिरामीका आफन्तले डाक्टरले लेखिदिएको औषधि बाहिरबाट किनेर ल्याएको देखाएपछि मन्त्री पौडेल केहीबरे हेरेको हेरै भए।

उनले तत्कालै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास र अन्य चिकित्सकहरूलाई यसबारे प्रश्न गरे।

‘औषधि त निःशुल्क हुनुपर्ने होइन र ? किन बिरामीलाई किन्न लगाउनुभएको ?’ मन्त्री पौडेलले आक्रोशित हुँदै प्रश्न गरे। बिरामीका आफन्तले ‘सबै किनेर ल्याएको हो’ भनेपछि उनले तुरुन्तै यस्तो कार्य रोक्न र सबै औषधि तथा परीक्षण निःशुल्क गर्न निर्देशन दिए।

‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुपर्‍यो। अबदेखि कुनै पनि बिरामीले जुनसुकै औषधि किन्न नपर्ने गरी व्यवस्थापन गर्नुहोस्,’ उनले अस्पताल प्रशासनलाई निर्देशन दिँदै भने, ‘झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनुहोला।’

मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलभित्र पर्ने मात्र नभई, बिरामीको अवस्था हेरेर आवश्यक पर्ने अन्य औषधि पनि निःशुल्क उपलब्ध गराउन निर्देशन दिए।

उनले तीनै तहका सरकारबीच समन्वय गरी औषधि र जनशक्तिको कुनै पनि हालतमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

‘अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ। थप जनशक्ति चाहिएमा सङ्घीय सरकारले तत्काल उपलब्ध गराउनेछ,’ उनले भने।

निरीक्षणका क्रममा मधेस प्रदेशका मन्त्री जनार्दनसिंह क्षत्री, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह लगायतको उपस्थिति थियो।

नारायणी अस्पतालका मेसु डा. दासका अनुसार हाल अस्पतालमा ४८ जना हैजा तथा झाडापखालाका बिरामी उपचाररत छन्।

स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म २५४ जना बिरामी दर्ता भएकामा १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्, जसमध्ये २२ जना सघन उपचार कक्ष (आईसीयू) मा रहेका छन्।

प्रकाशित: ९ भाद्र २०८२ २०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App