लगातार चार दिनको डुबानपछि रौतहट सदरमुकाम गौरले बाढीको पानीबाट मुक्ति पाएको छ । गत शुक्रबारदेखि आइतबार बिहानसम्म परेको अति भारी वर्षाको कारण सदरमुकाम गौर जलमग्न भएको थियो ।
गौरको मुख्य सडकमा तीन फिटसम्म पानी जमेको थियो । चार दिनसम्म बाढीको पानीले गौरको जनजीवन अस्तव्यस्त बनाएको थियो । विस्तारै बाढीको पानी सुक्दै गएपछि बिहीबारदेखि गौरको जनजीवन सामान्य भएको छ । सदरमुकाम गौर प्रवेशको मूल बाटोमा रहेको सबगढा लचकामा अझै पनि तीव्र गतिले पानी बगिरहेको भए पनि गौरको मूल बजार भने बाढीको पानीबाट पूर्णतः मुक्ति पाएको छ ।
बाढी कम भएसँगै गौरमा बाढीजन्य महामारी फैलिने आशंकामा गौर नगरपालिकाले औषधि छर्ने काम गरेको छ । महामारीसँगै लामखुट्टे र अन्य कीरा फट्यांग्राको आक्रमण बढ्ने आशंका भएकोले नगरपालिकाले विहीवारदेखि सदरमुकामको नाला, पानी जम्ने ठाउँ, गल्ली तथा लामखुट्टे उत्पन्न हुने ठाउँको खोजी गरी औषधि छर्न सुरु गरेको हो ।
सम्भावित जोखिमलाई कम गर्न नगरवासी बुद्धिजीवीहरुको सल्लाहअनुसार गौरमा औषधि छर्न सुरुआत गरिएको नगर प्रमुख शम्भु साहले जानकारी दिए । नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सम्भावित जोखिम भएको सबै ठाउँमा औषधि छर्ने नगर प्रमुख साहले बताएका छन् ।
गौरमा सम्भावित जोखिमलाई कम गर्न औषधि छर्ने कामको सुरुआत भएसँगै ईशनाथ र राजदेवी नगरवासीले पनि औषधि छर्नुपर्ने माग गरेका छन् ।
राजदेवी, गौर र ईशनाथ नगरपालिका भारतीय सीमावर्ती क्षेत्र हुन् । बाढीले अत्यधिक डुबानमा परेका क्षेत्रमा औषधि छर्नुपर्ने र अत्यधिक क्षति पुगेका किसानलाई राहत दिनुपर्ने माग स्थानीयले गरेका छन् ।
प्रकाशित: २३ आश्विन २०८२ २१:२० बिहीबार





