२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष खोल्दै

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार पाउने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ। लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो।  

मंगलबार कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्रा. दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ। कक्षमा नर्सिङ पढेका तीन जना जनशक्ति करार सेवामा राखिनेछ। यस्ता जनशक्तिको पारिश्रमिक कामपाले उपलब्ध गराउनेछ।  

उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्‍याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए।  

महानगरले वि.सं. २०८० फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ। यसमा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्छन्। लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्न सक्ने कामपाले जनाएको छ।  

‘पहिलो, विपन्न परिचयपत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ। दोस्रो, विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ। तेस्रो, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्छन्,’ कामपा स्वास्थ्य विभागका प्रमुख केसीले भने।  

अहिलेसम्म उक्त सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरी, मिर्गौलामा पत्थरी, हाडजोर्नी, नाक, कान र घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अपरेसनको सुविधा लिइरहेका छन्।  

यस्तै, जटिल मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसाबसम्बन्धी सेवा उपलब्ध भइरहेको जनाइएको छ। कामपाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध भएका छन्।

प्रकाशित: २९ आश्विन २०८२ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App