१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

झलनाथ पत्नी चित्रकारको स्वास्थ्य सुधारोन्मुख

जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।  

घाइते चित्रकारको उपचारमा संलग्न जलनविज्ञ डा कीरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउँदाको भन्दा अवस्था सुधार आएको छ । देब्रे हातको शल्यक्रिया आज गरिने र अवस्था हेरेर अरु उपचार प्रक्रियाअघि बढाइने नकर्मीले बताइन ।  

यता पूर्वप्रधानमन्त्री खनालले पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएको बताएका छन् । आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको अस्पतालले जानकारी दिएको बताए ।  

फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिए ।  

लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उनले दुःख व्यक्त गरे । पूर्वप्रधानमन्त्री खनालले भने, ‘यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भत्र्सना गर्दछु  । उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।’  

नेता खनालले आफ्नो घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरुको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै प्राप्त ती प्रमाणहरु छिट्टै सार्वजनिक गरिने बताए । 

प्रकाशित: १ आश्विन २०८२ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App