दुई दशक अघि सम्म जापानिज इन्सेप्लाईटिसको संक्रमणका बिरामीले कैलाली, कञ्चनपुर लगायतका जिल्लाका अस्पताल भरिभराउ हुन्थे।
बर्सेनि ठुलो संख्यामा यो संक्रमणको महामारीले ज्यान जाने गरेको थियो। पछिल्ला वर्षहरूमा जापनिज इन्सेप्लाईटिसको संक्रमण कम भएर यसबाट मृत्यु हुने संख्या पनि घटेको थियो। यस वर्ष जापनिज इन्सेप्लाईटिस संक्रमण बढी देखा परेको छ। अङ्ग्रेजी वर्ष २०२६ मा मात्र यो रोगको संक्रमणले कैलालीमा २ जना र कंंचनपुरमा १ जनाको ज्यान गइसकेको छ।
जापनीज इन्सेप्लाईटिसको संक्रमण बाट खोप नलगाएका व्यक्तिहरू उच्च जोखिममा पर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताएका छन्।‘खोप नलगाएका ३० वर्ष माथि उमेरका व्यक्तिहरू संक्रमणबाट प्रभावित भएका छन्’उनले भने, ‘कैलालीमा यस वर्ष मृत्यु हुने खोप नलगाएका एक जना ३४ वर्ष र एक जना ७० वर्षको रहेका छन्’।
खोप नलगाएको व्यक्तिहरू यो रोगको प्रकोपको उच्च जोखिममा रहेको उनले बताए। कैलालीमा घोडाघोडी नगरपालिकाका २ जनाको मृत्यु भएको हो। कैलालीमा यस वर्ष ९जनाको संक्रमण देखिएको छ।
‘१५ वर्ष मुनिका बालबालिकामा यो रोगको संक्रमणको जोखिम उच्च हुने गर्छ। खोपकै कारण १५ वर्ष मुनिका बालबालिकामा यो रोगको संक्रमण कम देखिएको हो’स्वास्थ्य प्रमुख कुँवरले भने।
यस वर्ष सबैभन्दा बढी यो रोगको संक्रमणबाट झापामा ६ जनाको मृत्यु भएको उनले बताए।
झापामा ६ , कैलाली २, अर्घाखाँची, २ सप्तरी २, पर्सा २, सुनसरी २, जना रहेका छन्। त्यसैगरी कञ्चनपुर, दाङ, नवलपरासी पश्चिम, रौतहट, काभ्रे, मोरङ, धनुषा र इलाम मा १, १ जनाको मृत्यु भइसकेको उनले बताए। देशभरि २५ जानाको मृत्यु भैसकेको छ भने १ सय ८ जना जापनिज इन्सेप्लाईटिसको संक्रमण भएको पुष्टि भैसकेको उनको भनाई छ।
क्युलेस जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ। यो भाइरसको संक्रमण भएमा मानिसको मस्तिष्क र स्नायु प्रणालीमा असर गर्छ र मृत्यु समेत हुने उनले बताए। ‘यो जनावर र लामखुट्टेबिचको रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्कमा गम्भीर असर गरेर मृत्यु हुने गर्छ’ उनले भने।
संक्रमणबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमित सबैमा लक्षण देखिँदैन। उनका अनुसार जेई मानिसबाट मानिसमा सर्दैन। रोगबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुँवरले बताए। घरका झ्याल ढोकामा जाली लगाउने, घर वरिपरि पानी जम्न नदिने र शरीर पुरै ढाक्ने गरी कपडा लगाउन उनको सुझाव छ।
सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी नजिक भएकालाई यो रोगको संक्रमण बढी देखिएकाले यस्ता पशुपन्छी बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने उनले बताए।
खोप अभियान सञ्चालन हुने
संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र झापामा जापानिज इन्सेपलाइटिस विरुद्धको खोप दिने भएको छ। कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए।
‘यो रोगको संक्रमण बढी देखा परेका धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ।’उनले भने। ३० वर्ष भन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइने उनले बताए। धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको उनले बताए।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए। ‘यो जनावर र लामखुट्टेबिचको रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्कमा गम्भीर समस्या ल्याउन सक्छ,’ उनले भने।
यसअघिको अभियानमा १५ वर्षमुनिका बालबालिकालाई दिने गरेको यो खोप यो वर्ष सबै उमेर समूहलाई दिन लागिएको खोप कार्यक्रम संयोजक विष्टले बताए।
प्रकाशित: २८ भाद्र २०८३ १५:०७ आइतबार





