१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अर्थ

उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो

बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख ४० हजार रुपैयाँको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो।  

गत भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीपहिरोले उत्तरी क्षेत्रको सडक आवागमन प्रभावित भएको थियो। काठमाडौं भित्रिने मुख्य राजमार्गमा समेत यातायात अवरुद्ध हुँदा चीनसँगको व्यापार प्रभावित भए पनि समग्र आयात बढेको हो।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ र भदौमा दुई खर्ब १४ अर्ब सात करोड रुपैयाँको वस्तु आयात भएको थियो। असोजमा मात्रै दुई खर्ब ४५ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएको छ। दसैंका कारण बजारमा माग बढ्दा असोजमा आयात उच्च भएको विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको थियो। यस वर्ष आयात बढेसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आवको पहिलो तीन महिनामा एक खर्ब १४ अर्ब २८ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो। यसअनुसार निर्यात ५७.०३ प्रतिशतले बढेको हो।

आयात र निर्यात दुवै बढेपछि नेपालको कुल वैदेशिक व्यापारको आकार ४०.७१ प्रतिशतले विस्तार भएर सात खर्ब ६१ अर्ब सात करोड रुपैयाँ पुगेको छ तर निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार घाटा पाँच खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

आयातमा कच्चा भटमास तेल र इन्धनको वर्चस्व

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा सबैभन्दा बढी मूल्यको आयात हुने वस्तुमा कच्चा भटमास तेल पहिलो स्थानमा छ। यस अवधिमा ५० अर्ब रुपैयाँभन्दा बढीको कच्चा भटमास तेल अर्जेन्टिना, चीन र ब्राजिलबाट आयात भएको छ। नेपालले कच्चा वनस्पति तेल आयात गरी प्रशोधनपछि तयारी तेलका रूपमा निर्यातसमेत गर्दै आएको छ।

यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको दुई लाख ८८ हजार किलोलिटर डिजेल, २४ अर्ब ६२ करोड रुपैयाँको एक लाख ८१ हजार किलोलिटर पेट्रोल र २३ अर्ब १८ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ। समग्रमा तीन महिनामा एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको विभागले जनाएको छ।

त्यस्तै वनस्पति तेलको कच्चापदार्थ आयातमा ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ। सवारी–साधन तथा तिनका पार्टपुर्जा आयातमा ५३ अर्ब १९ करोड, मेसिन तथा मेकानिकल पार्टपुर्जामा ४२ अर्ब ११ करोड, विद्युतीय उपकरणमा ४० अर्ब ८४ करोड, फलाम तथा स्टिलमा ३९ अर्ब ३७ करोड र मल आयातमा ३२ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ।

निर्यातमा वनस्पति तेलको हिस्सा ठूलो

निर्याततर्फ वनस्पति तेलको हिस्सा सबैभन्दा ठूलो रहेको छ। त्यसपछि धागोको निर्यात चार अर्ब ९७ करोड रुपैयाँ बराबर छ। चिया, कफी तथा मसलाको निर्यात चार अर्ब ६५ करोड र कार्पेटजन्य वस्तुको निर्यात तीन अर्ब ७२ करोड रुपैयाँ बराबर रहेको छ।

यसैगरी जुटजन्य वस्तु दुई अर्ब ९६ करोड, अलैंची दुई अर्ब ५७ करोड, सूर्यमुखी फूलको तेल दुई अर्ब ५३ करोड र पाम तेल दुई अर्ब ४२ करोड रुपैयाँ बराबर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।

भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा

चालु आवको पहिलो तीन महिनामा भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक बनेको छ। भारतबाट तीन खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट ९५ अर्ब ५९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। यससँगै भारतसँगको व्यापार घाटा दुई खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

चीन दोस्रो ठूलो व्यापार साझेदार मुलुक बनेको छ। चीनतर्फ नेपालको निर्यात भने ६७ करोड रुपैयाँ बराबर मात्र रहेको छ। अर्जेन्टिना तेस्रो ठूलो व्यापार साझेदार बनेको छ। यस अवधिमा अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यस्तै साउदी अरबबाट ११ अर्ब ५६ करोड, ब्राजिलबाट नौ अर्ब चार करोड र अमेरिकाबाट आठ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ।

नेपालबाट अमेरिकातर्फ भने ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसले अमेरिकासँगको व्यापार घाटा तुलनात्मक रूपमा कम रहेको विभागको तथ्यांकले देखाउँछ।  

प्रकाशित: १२ कार्तिक २०८३ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App