इजरायलमा गत मंगलबार भएको निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ। निर्वाचनमा बेन्जामिन नेतन्याहूको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो गठबन्धनले बहुमत नपाउनुमा अरब पार्टीहरूलाई दोष दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा आफ्नो पार्टीको एउटा वक्तव्य सार्वजनिक गर्दै अरब पार्टीहरूले चुनाव चोरेको आरोप लगाएका छन्।
वक्तव्यमा भनिएको छ, 'इजरायलमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब पार्टीहरूले चुनाव चोरेका छन्। घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाता जुटाउन प्रतिबन्धित सफ्टवेयरको प्रयोगजस्ता गम्भीर आपराधिक कार्यमार्फत यो चोरी गरिएको हो।'
वक्तव्यमा लिकुड पार्टीले चुनावमा धाँधली भएको दाबीसहितका सयौँ बयान र प्रमाण प्रहरी, शिन बेट (इजरायलको आन्तरिक सुरक्षा निकाय) र केन्द्रीय निर्वाचन समितिलाई बुझाउन लागेको उल्लेख छ।
वक्तव्यअनुसार अरब समुदायका विभिन्न मतदान केन्द्रमा चुनावी धाँधली भएको दाबी गरिएको छ। ती प्रमाणमा राम पार्टीका चुनाव चिह्न भएका पर्ची र नगदसहितका हजारौँ खाम, मतदान केन्द्रका सदस्यलाई धम्की तथा उनीहरूमाथि हिंसा, मतदान कक्षको पर्दापछाडि पटकपटक मतदान, दोहोरो पहिचान प्रयोग गरेर मतदान, खामको सङ्ख्या र मतदाताको सङ्ख्याबीचको अन्तर तथा मतदाता जुटाउन प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेको जस्ता आरोप समावेश छन्।
लिकुड पार्टीले अरब पार्टीहरूबाट भएको भनिएको चुनावी धाँधलीबारे गहिरो अनुसन्धान गर्न प्रहरी र शिन बेटसँग माग गरेको छ। साथै, घटनामा संलग्न दोषीमाथि पूर्ण कानुनी कारबाही गर्न पनि आग्रह गरेको छ।
त्यस्तै, केन्द्रीय निर्वाचन समितिलाई कथित आपराधिक गतिविधिको तत्काल अनुसन्धान गर्न माग गरिएको छ। यस्ता गतिविधिले इजरायलको निर्वाचनको निष्पक्षता र चुनावी परिणाममा गम्भीर क्षति पुर्याएको लिकुड पार्टीको दाबी छ।
नेतन्याहूको गठबन्धन ५३ सिटमा सीमित
९७ प्रतिशत मतगणना सम्पन्न हुँदा नेतन्याहूको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ। उनका विरोधी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट पाएको छ भने अरब पार्टीहरूको गठबन्धनले १९ सिट प्राप्त गरेको छ।
इजरायली संसदमा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ। तर, प्राप्त प्रारम्भिक मतपरिणामअनुसार कुनै पनि गठबन्धनले आवश्यक बहुमत प्राप्त गर्न सकेको छैन।
प्रकाशित: १२ कार्तिक २०८३ ०७:३२ बिहीबार




-600x400.jpg)
