त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पुरुषको यौन तथा बाँझोपना स्वास्थ्य समस्या एकीकृत र छरितो रूपमा समाधान गर्ने तयारी गरेको छ। अस्पतालको युरोलोजी विभागले सुरु गरेको यो सेवालाई छरितो र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा बिहीबार छलफल गरेको हो। विभागका चिकित्सक तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विभिन्न विभागले प्रस्तुति गरे।
उचित उपचारको अभावमा पुरुषमा यौन दुर्वलता तथा बाँझोपना समस्या यथावत् रहेकाले यसको समाधानको भूमिका यसै अस्पतालबाट सुरु गरिने युरोलोजी विभागको भनाइ छ। छरितो र प्रभावकारी प्रक्रिया अन्तर्गत मेन हेल्थ क्लिनिकमा पुगेका बिरामीलाई अन्य विभागले गर्ने सहयोग र अन्य विभागमा पुगेका तर पुरुषमा यौन दुर्वलता तथा बाँझोपनाको समस्या छ भने मेन हेल्थ क्लिनिकमा सिफारिस गर्ने गरी विधि बनाएर अगाडि बढ्नुपर्ने युरोलोजी विभागका डा. भोजराज लुइँटेलले बताए।
त्यसैगरी मेन हेल्थ क्लिनिकमा पुगेका बिरामीलाई सम्बन्धित विभागमा सिफारिस गर्दा तत्काल उपचार हुने व्यवस्था गर्नुपर्ने डा. लुइँटेलले बताए। उनले भने, ‘मेन हेल्थ क्लिनिकका बिरामीलाई सामान्यदेखि जटिल स्वास्थ्य सेवा दिन सकियोस्।’
अर्थात् त्यो विभागमा आइसकेका बिरामीले बहिरंग विभागमा जानु नपरोस् भन्ने आशय रहेको युरोलोजी विभागका प्रमुख डा. पवन चालिसेले बताए।
त्यसैगरी अन्य विभागमा पुगेका यौन दुर्वलता तथा बाँझोपनाको समस्या भएका पुरुषलाई तत्काल मेन हेल्थ क्लिनिकमा सिफारिस गर्ने विधि हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
यौन दुर्वलता तथा बाँझोपना हुनुमा स्वास्थ्यमा हुने विभिन्न गडबडी पनि एक रहेकाले सबै विभागको सहकार्यले यो सेवालाई छरितो तुल्याउन सहयोग पुर्याउने युरोलोजिस्ट तथा मेन हेल्थ क्लिनिकका संयोजक डा. लुइँटेलले बताए। उनले भने, ‘कुनै एउटा विभागको भूमिकाले मात्र पुरुष स्वास्थ्य समस्या छरितो रूपमा सम्भव छैन।’
पुरुषमा हुने यौन दुर्वलता तथा बाँझोपनापछि मुटुजन्य, हर्मोनको गडबडी, मानसिक रोग, युरोलोजीसम्बन्धी रोगको भूमिका पनि रहने भएकाले सोहीअनुसार उपचार हुनुपर्ने विभागीय चिकित्सकले औंल्याए।
मेन हेल्थ क्लिनिकमा आएका बिरामीलाई आवश्यक परे मुटु, हर्मोन तथा मानसिक रोग विभागमा सिफारिस गरिने र सिफारिस भएका बिरामीलाई सिधै हेर्ने व्यवस्था हुने गरी समन्वय गर्न लागिएको युरोलोजी विभागका प्रमुख डा. पवन चालिसेले बताए। उनले भने, ‘बुहुपक्षीय समस्याको समाधान छरितो प्रक्रियाले मात्र सम्भव छ।’
सोही क्रममा मनमोहन कार्डियो–थोरासिक तथा भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले यौन दुर्वलता भएका पुरुषमा मुटुजन्य रोग बढी देखिएको बताए।
उनले भने, ‘यौन दुर्वलता भएकाहरूमा मुटु तथा रक्तनलीजन्य रोग देखिन्छ। कतिसम्म भने पछि हृदयाघातका समस्यासमेत देखिएका छन्। तुलनात्मक रूपमा यो समस्या बढी हुने गरेको छ।’ यौन दुर्वलता हुनु मुटुजन्य रोगेको सुरु लक्षण भएको डा. पौडेलको भनाइ छ।
टिचिङ अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. मनीषा चापागाईंले महिलाको तुलनामा पुरुषमा बढी मानसिक समस्या भए पनि उपचारमा आउने चलन कम रहेका कारण जटिल रूप लिएको बताइन्। उनले भनिन्, ‘पुरुषको मानसिक समस्या लुकेको अवस्थामा छ।’ तथ्यांकमा महिलामा यस्ता रोग बढी देखिए पनि वास्तविकतामा पुरुषमा बढी रहेको उनको भनाइ छ।
एन्जाइटी, मानसिक समस्या, आत्महत्या पुरुषभन्दा महिलामा बढी देखिए पनि आत्महत्याको तथ्यांकले पुरुषमा बढी मानसिक समस्या रहेको पाइएको डा. चापागाईंको दाबी छ। साहसी हुनुपर्ने, रुन नहुने र कमजोर रूपमा प्रस्तुत हुन नहुने सामाजिक सोच र मान्यताका कारण पनि पुरुषहरू कडा रूपमा मानसिक रोगको सिकार हुने गरेकाले रोग पहिचान र छरितो उपचारका निम्ति सबै निकायको उचित भूमिका आवश्यक रहेको उनको भनाइ छ।
प्रकाशित: २१ कार्तिक २०८२ ०९:५२ शुक्रबार





