२९ मंसिर २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो

यहाँको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ। यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको हो।

नगरपालिकाका पशु विकास अधिकृत डा. रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको थियो। उनले भने, “माडी नगरपालिका सधैं रेबिजको जोखिममा छ।”

रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए। सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन्। एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उनले बताए।

त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ। रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताए।

उनले भने, “यहाँका कुकुरलाई समातेर खोप लगाउनै सकिँदैन।” रेबिजको सङ्क्रमण देखिएपछि अहिलेसम्म ४० वटा कुकुरलाई रेबिजको सङ्क्रमण रोक्न खोप लगाइएको छ।

चारैतिरबाट वनले घेरिएको र बस्ती पातलो भएका कारण यहाँ रेबिजको जोखिम अत्यधिक रहेको उनले बताए। उनले थपे, “रेबिज नियन्त्रणका लागि कुकुर र स्याल दुवै नियन्त्रण गर्नुपर्ने मुख्य चुनौती छ।”

हाल कार्यालयले नियमित रेबिजको खोप अभियान सञ्चालन गरेको छ।

प्रकाशित: ३० असार २०८२ २१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App