२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको बढ्दो समस्या

हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मुटुरोगको समस्या देखिएको छ।

नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीको परीक्षण गर्दा झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशतमा मधुमेह र १५ प्रतिशतमा मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीले जानकारी दिए।

त्यस्तै जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ। उनको अनुसार १५ वटा विद्यालयका झण्डै दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या रहेको र तीमध्ये चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ।

शिविरमा बिरामीको इको तथा इसिजी परीक्षण गरिएको थियो, भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख मूल्यका औषधि वितरण गरिएको थियो। शिविरमा डा. उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले परीक्षण गरेका थिए। रासस

प्रकाशित: ३ पुस २०८२ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App