पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे नेपाल सरकार गम्भीर रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पारे।
उनका अनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ। सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरू कार्यक्षेत्रमा रहेका नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनले बताए।
सचिव राईले भने, “अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार तत्कालै हाम्रा नेपाली नागरिकलाई सुरक्षाको दृष्टिले त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन। त्यसैले नेपालमा रहनुभएका उहाँहरूका परिवारजन र पश्चिम एशियामा बस्ने नेपालीहरूलाई विचलित र चिन्तित नहुन हार्दिक आग्रह गर्दछु।”
उनले नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको जानकारी दिए। भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दूतावास तथा मिसनहरूसँग नेपाली राजदूत र कन्सुल जनरलहरूले दैनिक रूपमा समन्वय गरिरहेको उनले बताए।
सरकारले आवश्यक परे आफ्ना नागरिकको उद्धार गर्न पूर्ण रूपमा सक्षम रहेको पनि सचिव राईले दाबी गरे। “कुनै विकल्प नभएको अवस्थामा सरकारले जुनसुकै हालतमा पनि आफ्ना नागरिकको उद्धार गर्छ,” उनले भने।
प्रकाशित: २७ फाल्गुन २०८२ १७:४३ बुधबार





