सरकारले चालु आर्थिक वर्षदेखि नियमित खोपमा समावेश गरेको एचभिभी (ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप) माघ महिनामै सुरु हुने गरी तयारी भइरहेको जनाएको छ ।
वार्षिक तालिकामा फागुनमा दिने कार्यक्रम रहेपनि आसन्न निर्वाचन र अन्य कार्यक्रमको अवधि रहेकोले समय तालिका माघमा सार्नु परेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा.अभियान गौतमले बताए । राष्ट्रिय खोप कार्यक्रमको स्थिति बारे जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन ।
डा.गौतममका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सर गराउन सक्रिय हुने ह्युमन पेपिलोमा भाइरसविरुद्धको खोप हो । यो सानो उमेरका किशोरीलाई दिँदा प्रभावकारी रुपमा काम गर्छ । एचपिभी भाइरस २ सय प्रकारका रहेपनि नेपालमा पाठेघरको मुखको क्यान्सर बनाउन सक्रिय रहेका एचपिभी १६ र एचपिभी १८ नम्वरका भाइरसविरुदको खोप दिन लागिएको हो ।
एचपिभी खोप भने यो वर्ष दश वर्षका तीन लाख ५० हजार किशोरीलाई दिने लक्ष्य रहेको छ । कक्षा ६ मा पढ्ने र १० वर्षका किशोरीलाई खोप लगाउने गरी तयारी भइरहेको डा.गौतमले जानकारी दिए । तर कक्षा ६ मा पढेपनि दश वर्ष भन्दा माथि उमेर रहेका किशोरीले पनि खोप पाउनेछन् । गतवर्ष दशदेखि १४ वर्षभित्रका सवैजसो किशोरीलाई खोप दिइसकेको हुनाले यो वर्ष दश वर्षभित्रका किशोरीलाई दिने सरकारले लक्ष्य छ ।
सानो उमेरमा दिंदा खोपको प्रभावकारिता हुने भएकोले दश वर्षका किशोरीलाई लक्षित गरी खोप दिने कार्यक्रम रहेको डा.गौतमले जानकारी दिए । खोप विद्यालयमा र बाहिर अन्य खोप केन्द्रमा पनि लगाइने खोप शाखाले जनाएको छ । सरकारले गतवर्ष चलाएको खोप अभियानमा ९० प्रतिशत किशोरीले खोप लिएका थिए ।
‘एचपिभी खोप सुरक्षित छ हल्लाको पछि नलाग्नु’
‘नयाँ खोप कार्यक्रम सुरु हुँदा अन्य देशमा पनि नकारात्मक हल्ला फैलिँदा सीमान्तीकृत समूह नै प्रभावमा परेको देखिन्छ, नेपालमा अब यस्तो नहोस’ डा.गौतमले भने ।
विश्व स्वास्थ्य संगठनका डा.पवन उपाध्यायले कुनै पनि खोप सञ्चालन गर्नु अघि खोपको औचित्य, प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर लगायत सवै विषयमा तहगत अध्ययन पछि मात्र खोप कार्यक्रमको निर्णय हुने भएकोले हरेक खोपहरु सुरक्षित हुने गरेको जानकारी दिए । उनले भने, ‘नेपालमा पनि खोप सल्लाहाकार समिति, औषधि व्यवस्था विभाग, विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि मात्र खोप आयत हुने गर्छन,’ उनले भने । आम मानिसमा पुग्नु अघि नै बिभिन्न अनुसन्धान गरी खोप बजारमा पठाइने वैज्ञानिक विधि भएकोले अभियानमा प्रयोग हुने खोप सुरक्षित भएको उनीहरुको दाबी छ । ‘नकारात्मक हल्लाको पछि लाग्दा खोप लिन बंञ्चित भएका किशोरी पछि गएर पाठेघरको मुखको क्यान्सरको जोखिममा हुन्छन,’ उनले भने ।
एचपिभी खोप अभियानको खोप आयत भइसकेको र माघ महिनाभित्रै सवै प्रदेश तथा जिल्लाहरुमा पठाइने तयारी भइरहेको खोप शाखाले जानकारी दिएको छ । यो खोप निजी क्लिनिकहरुमा पाइने भएपनि सरकारले सवै किशोरीका लागि अन्तर्राष्ट्रिय खोप वितरण संस्था गाभी र नेपाल सरकारको खर्चमा लिइएको हुनाले निजी क्लिनिकको तुलनामा सुरक्षित र निःशुल्क रहेको महाशाखाको दाबी छ । प्रतिजैविक समस्या बढिरहेको बेलामा रोग लागिसकेपछि औषधिभन्दा खोप उचित भएको उनले बताए ।
सो क्रममा परिवार कल्याण महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले कुनै पनि रोग लाग्न र रोग लागेर जटिलता हुन नदिन कुनै पनि खोप दिइने हुनाले नेपाल सरकारले प्रदान गरेको खोप सुरक्षित रहेको बताए । ‘रोग लाग्न नदिन र लागेर जटिल समस्या भई मृत्यु हुन नदिन खोपको सहारा चाहिन्छ,’ उनले भने ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी निर्देशक राधिका थपलियाले एचपिभी खोप बारे गलत हल्ला नफैलाउन सञ्चारकर्मीसँग अनुरोध गरिन् । ‘संधै नयाँ खोप दिने समय गलत हल्ला हुन्छ, यो वर्ष त्यस्तो नहोस,’ उनले भनिन ।
प्रकाशित: ७ पुस २०८२ १६:४३ सोमबार





