१ चैत्र २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन, संवेदनशील क्षेत्रप्रति सरकारको बेवास्ता

जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन अवस्थामा छ। तत्कालीन स्वास्थ्य मन्त्री  प्रदीप पौडेलले भदौ २४ गते राजीनामा दिएयता स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन बनेको हो। 

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन सकेको छैन, जसका कारण स्वास्थ्य क्षेत्रका दैनिक काम प्रभावित बनेका छन्। 

बिहीबार पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई  ‘मन्त्रिमण्डल बिस्तार कहिले हुन्छ?’ भनेर प्रश्न सोध्दा उनले ‘भएको भयै छ नि’ भनेर झर्केर उत्तर दिएकी थिइन्। त्यसको पनि तीन दिन बितिसकेको छ, तर मन्त्रिमण्डल बिस्तार हुने र स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउने विषय टुङ्गो लागेको छैन। 

प्रधानमन्त्री कार्कीले एक महिनामा दुई पटक मन्त्रीमण्डल विस्तार गरेकी छन्। जसमा हाल आठ सदस्यीय मन्त्रीमण्डल बनेको छ। तर, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील क्षेत्रले नेतृत्व पाउन सकेको छैन। 

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते स्वास्थ्य मन्त्रालयमा तोडफोड र आगजनी भएको थियो। जसबाट मन्त्रालयलको भवन र प्राविधिक संरचनामा ठुलो क्षति पुगेको छ। क्षतिका कारण मन्त्रालयलाई हाल स्वास्थ्य परिषद्को भवनमा अस्थायी रूपमा सञ्चालन गरिँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन नसक्दा काम गर्न र निर्णय लिन सनकै कठिन भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए। ‘हामी शून्यताबाट उठ्न कोसिस गरिरहेका छौँ। काम गर्न सक्ने गरी स्थान पनि भएन,’ उनले भने, ‘सर्वसाधारणका गुनासा विभिन्न माध्यमबाट सङ्कलन गर्दै काम गर्दैछौं। व्यवस्थापनमा नै समस्या भएका कारण कसरी जाने? के गर्ने? भन्ने अप्ठ्यारो स्थिति छ।’ 

प्रशासन, गुणस्तर मापन तथा नियमन, जनसंख्या व्यवस्थापन, स्वास्थ्य समन्वय र नीति योजना तथा अनुगमनलगायतका महाशाखाले पूर्ण रूपमा काम गर्न सकिरहेका छैनन्। सह प्रवक्ता अधिकारी बदलिँदो परिस्थिति अनुसार राजनीतिक नेतृत्व अपरिहार्य भएको बताउँछन्। 

‘प्रधानमन्त्री स्वयंले सबै मन्त्रालय हेर्न र समय दिन सम्भव हुँदैन र छैन पनि। स्वास्थ्य मन्त्रालयमा समयमै राजनीतिक नेतृत्व लिने गरी मन्त्री ज्यु आए हामीलाई काम गर्न र निर्णय लिन सहज हुने थियो,’ सह प्रवक्ता अधिकारीले भने।  

जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालयमा नेतृत्व नहुँदा प्रमुख सरकारी अस्पतालहरूमा हुने गरेका नीतिगत निर्णय र छलफलमा पनि समस्या भइरहेको छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले अस्पतालका दैनिक काम भइरहे पनि विशेष निर्णयमा असर हुने गरेको बताए। उनले भने, ‘लामो समय नेतृत्व नहुँदा अस्पतालमा कुनै न कुनै कुराको अभाव त हुन्छ। स्वास्थ्य क्षेत्रमा के गर्ने, कसो गर्ने भन्नेमा अन्योल हुन्छ नै।’ 

जेन–जी आन्दोलनका घाइतेको चापले केही समय अस्पतालमा अत्यधिक सेवा प्रवाह भयो। घाइतेको उपचार भयो, केही घाइते अझै उपचारको क्रममा छन्। तर मन्त्रालयमा नेतृत्व नहुँदा  अस्पतालले गर्नुपर्ने नीतिगत निर्णयमा समस्या हुने वीर अस्पतालका प्रवक्ता डा. भूपेन्द्र बस्नेतले बताए। 

‘आन्दोलनपछि बिरामीको चाप बढे पनि दसैँ तिहारको कारण अहिले बिरामी कम छन् र सेवा प्रवाह राम्रो छ। तर लामो समयसम्म यस्तै नेतृत्वविहीन भइरहे बिरामी प्रत्यक्ष प्रभावित हुन्छन्’, उनले भने। 

प्रकाशित: १ कार्तिक २०८२ १८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App