वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको टेलिमेडिसिनमार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवासमेत प्रदान गर्ने गरी तयारी भइरहेको छ।
वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढेको टेलिमेडिसिन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार विशेषज्ञ सेवा दिन नेपालको सरकारी अस्पताल वीर अस्पताल र सम्बन्धित देशका स्थानीय सरकारी अस्पतालबिच समन्वय गरी उपचार गर्ने गरी सम्झौताको तयारी भइरहेको छ। वीर अस्पतालको टेलिमेडिसिन विभागले प्रदान गरेको प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय अस्पतालका चिकित्सकले हेरी सोहीअनुसार उपचारमा समन्वय गर्ने व्यवस्था हुने छ।
यो व्यवस्था हाल धेरै नेपाली श्रमिक रहेका देशमध्ये कुनै एक देशबाट सुरु गर्ने र क्रमशः १२ देशमा विस्तार गर्ने योजना छ। श्रमिकले यो सेवा लिन वीर अस्पतालस्थित टेलिमेडिसिनमा भिडियो कलमार्फत आफ्नो समस्या राख्नुपर्ने छ। सुरुमा सामान्य चिकित्सकले हेर्ने र आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकले समेत भिडियो कलमार्फत बिरामी हेर्ने छन्। सोहीअनुसार आवश्यक परीक्षण तथा औषधीका लागि सिफारिस गरिने छ।
उक्त प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय सरकारी अस्पतालका चिकित्सकलाई देखाउन सकिने छ। प्रेस्क्रिप्सन म्यासेजमार्फत बिरामीलाई पठाइने छ। उक्त प्रेस्क्रिप्सनअनुसार अस्पतालहरूले भिडियो एक्सरे, रगतको जाँच तथा आवश्यक परे अन्य परीक्षणसमेत गर्ने छन्। परीक्षणको रिपोर्ट पुनः नेपाल पठाइने छ। रिपोर्टका आधारमा पुनः औषधीको प्रेस्क्रिप्सन तयार गरिने छ। उक्त औषधी सम्बन्धित देशका फार्मेसीबाट किन्न सकिने छ।
यसका साथै नेपालका चिकित्सक र सम्बन्धित देशका चिकित्सकबिच भिडियोमार्फत कुराकानी गरी आवश्यक उपचारमा समन्वय गरिने छ। ‘हालसम्म श्रमिकका लागि सिधै काउन्टरबाट किन्न मिल्ने औषधि मात्र सिफारिस भएका छन्। अब प्रेस्क्रिप्सनका आधारमा किन्न मिल्ने औषधीसमेत किन्न सक्ने गरी सम्झौता हुने छ,’ उनले भने।
वैदेशिक रोजगारीमा रहेका श्रमिकमा मानसिक समस्या बढी देखिने भएकाले हालसम्म मानसिक समस्याका लागि परामर्श र सामान्य उपचार सेवा प्रदान हुँदै आएकोमा आगामी दिनमा थप सेवा प्रदान गरिने डा. बुढाथोकीले बताए।
वैदेशिक रोजगारीमा जानेहरूलाई विभागले रोजगारीमा जानुअघि दिइने परामर्शकै क्रममा टेलिमेडिसिन स्वास्थ्य सेवाका नम्बरसमेत उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई जटिल रोग लागे विशेषज्ञ सेवा पाउन महिनौं कुर्नुपर्ने बाध्यता रहेको हुँदा उक्त झन्झटबाट उनीहरूलाई मुक्त गर्न र बेलैमा उचित उपचार तथा परामर्श दिन नयाँ व्यवस्थाले सहज हुने डा. बुढाथोकीले बताए।
खासगरी विभिन्न देशमा कार्यरत श्रमिकले सम्बन्धित देशको भाषा र अंग्रेजी राम्रोसँग नजान्दा आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग सञ्चार गर्न नसक्ने भएकाले पनि टेलिमेडिसिनमार्फत स्तरीय सेवा प्रदान गर्ने तयारी गरिएको उनले बताए।
यो सेवा लिन टेलिमेडिसिनका दुई वटा नम्बर ५१३४५७०१ र ९८५१३४५७०२ मा ह्वाट्सएप, भाइबर र इमोमार्फत भिडियो कल गर्न मिल्ने व्यवस्था छ। विदेशमा गम्भीर बिरामी परेका श्रमिकलाई स्वदेश फर्किनुपर्ने अवस्था आए वीर अस्पतालले सिधै विमानस्थलबाट एम्बुलेन्समा ल्याई उपचार गर्ने व्यवस्था गरेको छ।
टेलिमेडिसिन विभागले नेपालभित्रैका दुर्गम क्षेत्रमा रहेका चिकित्सकसँग पनि तत्काल जटिल उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्थामा आपसमा समन्वय गर्दै आएको छ। हाललाई वैदेशिक रोजगारीमा गएकाहरूका लागि दुई जना मेडिकल अफिसर र दुई जना मनोसामाजिक परामर्शदाता राखेर सेवा प्रदान गर्ने तयारी भएको छ।
अन्य विशिष्टीकृत सेवाका लागि भने वीर अस्पतालकै चिकित्सकसँग सहकार्य गरिने छ। यो सेवाका लागि वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हाल दैनिक २० देखि ३० जनासम्मको भिडियो फोन आउने गरेको छ।
प्रकाशित: १६ आश्विन २०८३ १०:१९ शुक्रबार





