तिहार नजिकिँदै गर्दा घर–घरमा पकवान, चक्की, सेलरोटी, फुलौरी, माछा–मासु, मिठाइ लगायतका चिल्लो र तारेका परिकार तयार पार्ने तयारी सुरु भएको छ। उत्सवको माहोलमा यस्ता खानेकुराले स्वाद त बढाउँछ, तर स्वास्थ्यका लागि जोखिम पनि त्यत्तिकै बढाउँछ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक तेलमा तारेका, घ्यू–बटर प्रयोग भएका वा बढी चिनी भएको परिकारले शरीरमा बोसो, सुगर र रक्तचाप बढाउने खतरा रहन्छ। विशेषगरी मधुमेह, मुटुरोग, उच्च रक्तचाप वा मृगौलासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि यस्तो खाना अझ घातक बन्न सक्छ।
पोषण विज्ञ डा. भावना श्रेष्ठले चिल्लोबाट बनेका गुलियो बढी भएका परिकार स्वादिष्ट भए पनि लामो समयसम्म तेल तताएर बनाउँदा ट्रान्सफ्याट बन्ने भएकाले स्वास्थ्य समस्या निम्तने बताइन । जसले मुटुका धमनीमा बोसो जम्ने खतरा बढाउने उनको भनाइ छ ।
तिहारका परिकारका असर
सेलरोटी र पुरीमा प्रयोग हुने अत्यधिक तेलले कोलेस्ट्रोल बढाउँछ।
लड्डु, बर्फी, पेढा जस्ता मिठाइमा रहेको चिनीले रगतमा सुगरको मात्रा असन्तुलन गर्न सक्छ।
माछा–मासु, भुजिया लगायत तारेका खानेकुराले पाचन प्रणालीमा बोझ पुर्याउँछन्।
धेरै तेल र मसला भएको खाना खाँदा ग्यास्ट्रिक, अपच, मोटोपन र मुटुरोगको जोखिम बढ्छ।
सावधानी अपनाउने उपाय
तारेको खाना साटेर भापमा पकाएको, ग्रिल गरिएको वा उमालेको परिकार रोज्नु।
तेल पुनःप्रयोग नगर्नु र सकेसम्म सूर्यमुखी वा तोरीको तेल सीमित मात्र प्रयोग गर्नु।
मिठाइको साटोमा फलफूल, दही, ड्राइफ्रुट्स जस्ता स्वस्थ विकल्प रोज्नु।
उत्सवमा पनि मात्रा नियन्त्रण गर्नुपर्छ, 'थोरै खाए मिठो, धेरै खाए रोग।'
पर्याप्त पानी पिउनु, हिँडडुल गर्नु र पर्याप्त सुताइले शरीर सन्तुलनमा राख्छ।
उत्सव मनाउनु राम्रो कुरा भए पनि आफ्नो शरीरलाई तनावमा पार्ने गरी चिल्लो र मिठो खानाले दीर्घकालीन समस्या निम्त्याउँने भएकाले सावधानी अपनाउ डा श्रेष्ठले सुझाएकी छन् । उत्सवपछि अस्पताल धाउनु नपरोस् भन्ने हेक्का राखेर खानेकुरामा सन्तुलन व्यवस्थापन गर्न उनले सुझाएकी छन् ।
तिहार खुशी र मिलनको पर्व हो। तर, यो खुशी स्वास्थ्यमा नकारात्मक असर नपारोस् भन्नका लागि खानपानमा सन्तुलन, सफाइ र संयमता अपनाउन अत्यावश्यक छ।
प्रकाशित: २७ आश्विन २०८२ १९:३५ सोमबार





