२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

सप्तरीमा झाडापखाला: मुसहर बस्ती सिल, स्कुल बन्द

झाडापखाला फैलिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरमको मसहर बस्ती। तस्बिर: मिथिलेश यादव/नागरिक

एक साताभित्र एकै परिवारका तीन जनाको ज्यान जाने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमको मुसहर बस्तीमा झाडापखाला फैलिएपछि सोमबारबाट उक्त बस्तीलाई ‘सिल’ गरी बिरामीको औषधोपचार थालिएको छ।

झाडापखाला थप फैलिन नदिन बस्तीका मानिसलाई बाहिर जान नदिने र आवश्यक वस्तु त्यहीँ नै उपलब्ध गराउने गरी एक हिसाबले सिल गरेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए।

‘आइतबारबाटै बस्तीमा स्वास्थ्यकर्मीको टोलीले स्थलगत उपचार सुरु गरिसकेको छ,’ अध्यक्ष चौधरीले नागरिक न्युजसँग भने, ‘अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। आत्तिनुपर्ने अवस्था छैन।’

झाडापखालाका सबै बिरामीसँग दिसाको नमुना माग्दा आइतबार चार घण्टामा नौ जनाले मात्रै दिएको अध्यक्ष चौधरीले बताए। जिल्ला स्वास्थ्य कार्यालयमा जाँचका लागि पठाइएको ती नमुनामध्ये तीन जनामा हैजा देखिएको छ।

आरडिटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) बाट हैजा (कोलेरा भिब्रिओ कोलरी) परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ। थप यकिन गर्न ती पोजिटिभ देखिएको नमुना प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको छ। त्यसको रिपोर्ट आइनसकेको अध्यक्ष चौधरीले जानकारी दिए।

उनका अनुसार स्थानीय सुरज सदाकी तीन वर्षीय छोरा मनीष, शिवकुमार सदाका सात वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदाको आरडिटी पोजेटिभ देखिएको छ।

तीनै जनालाई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो। उनीहरूको उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए। ‘हामी विपद् व्यवस्थापन समितिबाट निर्णय गरेरै चार स्वास्थ्यकर्मीलाई २४ सै घण्टा उपचारमा खटाएका छौं,’ उनले भने।

हैजा फैलिएको वडाका विद्यालयहरूमा तीन दिनका लागि बिदा दिइएको चौधरीले बताए। पानीको साबिक स्रोतलाई बन्द गरी प्रशोधित पानी वितरण गरिरहेको उनले बताए।

झाडापखालाबाट परिवारका तीन जना गुमाएका बुचन सदायलाई राहत तथा खाद्य सामग्रीसमेत गाउँपालिकाबाट दिइएको अध्यक्ष चौधरीले बताए।

‘किरिया खर्च वडा र स्थानीयले सहयोग गरेका छन्,’ उनले भने, ‘गाउँपालिकाबाट पनि हामी सहयोग गर्छौं।’ बुचनसहितका यो सदाय बस्ती ऐलानी जमिनमा बस्दै आएका छन्।

यस बस्तीका प्रायः सबैको जीविकोपार्जनको स्रोत मजदुरी हो। कोही दिल्ली पन्जाबमा मजदुरी गरेर परिवारको गुजारा चलाउँछन्। कोही गाउँघरमै कृषि र अन्य मजदुरी गरेर जीवन धान्दै आएका छन्।

बुचनको आठ जनाको परिवार पन्जाबको मजदुरीमा टिकेको थियो। पन्जाबमा बुचन मजदुरी गरेर पठाएको आम्दानीबाट वृद्ध बुवा, पत्नी र पाँच सन्तानको गुजारा चलेको थियो।

झाडापखालाबाट कात्तिक ६ गते बुचन सदाका एक वर्षीय छोरा सञ्जीव, ११ गते उनका बुवा ६८ वर्षीय लक्ष्मण र १४ गते चार वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो।

त्यसपछि यस बस्तीमा झाडापखालाको जानकारी बाहिरिएको थियो। यस बस्तीको मुख्य समस्या गरिबी त हो नै, त्योभन्दा पनि सरसफाइ रहेको अध्यक्ष चौधरी बताउँछन्।

समयसमयमा सरसफाइका लागि सचेतना कार्याक्रम गरेर कसरी सफा बस्ने भन्ने विषयमा जानकारी गराउँदा पनि सरसफाइलाई यो समुदायले प्राथमिकता नदिँदा पनि समस्या आउने गरेको उनले बताए।

‘अहिले पनि हामीले नेल कटर, साबुन, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरेका छौं, प्रयोग गर्न सिकाएका छौं तर उनीहरू यो विषयलाई वास्ता गर्दैनन्,’ उनले भने।

प्रकाशित: १७ कार्तिक २०८२ २०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App