बैतडीमा डेंगी सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए।
स्वास्थ्य कार्यालयमा प्राप्त तथ्यांकअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेंगी सङ्क्रमण देखिएको छ। जिल्लाका अन्य स्थानीय तहमा डेंगीका बिरामी फेला परेका छैनन्। गत वर्ष जिल्लामा १०६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको थियो।
हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरि सञ्चालन भएको छ। एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिए।
डेंगी सङ्क्रमण हुँदा मानिसलाई कडा ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी र मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन्। यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा लक्षण पनि देखापर्छन्।
यस्ता लक्षण देखिएमा डेंगी जाँच गर्नु आवश्यक छ र जाँच नगरी जथाभावी औषधि सेवन गर्दा अन्य समस्या निम्तिने भएकाले यो तर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ। रासस
प्रकाशित: १२ कार्तिक २०८२ ०६:३२ बुधबार





