१७ श्रावण २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

नगर अस्पताल भवन निर्माणमा ढिलासुस्ती

बाराका १६ वटा स्थानीय तहमध्ये अधिकांशले अहिलेसम्म नगर अस्पतालको भवन निर्माणमा सक्रियता देखाएका छैनन्।

स्थानीय सरकार प्रमुखलगायत जनप्रतिनिधीले नगर अस्पताल निर्माणमा सक्रियता नदेखाउँदा गाउँघरमै नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको अवस्था छ। २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनपछि जनताले गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा गरेका थिए।

नगरवासीले गरेको आशा पूरा गर्न स्थानीय सरकार प्रमुखहरूले नगर अस्पतालको भवन निर्माण गरेर जनशक्तिको व्यवस्था गर्नतिर केन्द्रित हुनुपर्थ्याे तर त्यस्तो नहुँदा स्थानीय तहको पहिलो निर्वाचन भएको झन्डै नौ वर्ष बित्न लाग्दा पनि अधिकांश स्थानीय तहको आफ्नै भवनमा नगर अस्पताल सञ्चालन गरेको देखिन्न।

नगर अस्पतालको भवन अभावमा कुनैकुनै स्थानीय तहहरूले पहिलाको स्वास्थ्य चौकीहरू वा प्राथमिक अधारभूत स्वास्थ्य केन्द्रको भवनबाटै नगर अस्पताल सञ्चालन गरेका देखिएको छ। नगर अस्पतालको भवन शिलान्यास भएको पाँच वर्षजति बितिसक्दा पनि जितपुरसिमरा उपमहानगरपालिकाले त्यसलाई निर्माण सम्पन्न गर्न सकेको छैन।

अस्पताल भवन अभावमा सिमरा स्वास्थ्य चौकीको पुरानै भवनबाट अहिले नगर अस्पताल सञ्चालन गर्दै आएको छ। साँघुरो भवनमा सञ्चालन गरिएको नगर अस्पतालमा एक विशेषज्ञ ६ डाक्टरसहित स्वास्थ्यकर्मीको टोलीले सेवा दिइरहेको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले बताएका छन्।

जितपुरसिमरा उपमहानगरपालिका प्रमुखले नगर अस्पतालको भवन निर्माणको अन्तिम चरणमा रहेकाले केही महिनामै बनाइसक्ने दाबी गरेका छन्। भवन निर्माण गर्नुभन्दा पनि अस्पताल सञ्चालन गर्न अहिले उपकरण, मेसिन, डाक्टर, नर्सलगायतको जनशक्तिको व्यवस्था गर्नु नै मुख्य चुनौती रहेको पौडेलले बताए।

संघीय सरकारले नगर अस्पतालको भवन निर्माण गर्न १८ करोड अनुदान दिने भन्यो र भनेको पैसा नदिँदा अस्पताल भवनको निर्माण कार्यमा ठेकेदारले ढिलाइ गर्दै आएको उनले बताए। निर्माण हुनेबित्तिकै त्यही भवनबाट नगर अस्पताल सञ्चालन गरिने पौडेलले बताए।

निजगढ नगरपालिकाले २०७७ मंसिर १५ गते ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने भन्दै संघीय सरकारको कार्यक्रमअन्तर्गत १५ शय्याको नगर अस्पतालको शिलान्यास गरेको थियो। निजगढका तत्कालीन नगर प्रमुख सुरेशकुमार खनाले शिलान्यास गरेको नगर अस्पताल लागत १८ करोड लाग्ने अनुमान गरिएको थियो।

संघीय सरकारको अनुदान सहयोगमा निर्माण सुरु गरिएको उक्त अस्पतालको भवन अहिलेसम्म पनि पूरा भएको छैन। भवन अभावमा नगर अस्पताललाई निजगढमै रहेका पुरानो अधारभूत स्वास्थ्य केन्द्रको साँघुरो भवनबाट सञ्चालन गरिएको छ।

निजगढ नगरपालिका प्रमुख सुरथ पुरीले संघीय सरकारबाट दिन भनिएको बजेट रकम नदिएका कारणले नगर अस्पतालको भवन निर्माणमा ढिलाइ भएको आरोप लगाए। साँघुरो भवनबाट सञ्चालन गरिएको नगर अस्पतालमा दैनिक बिरामीको चाप हुने गरेको अस्पताल प्रशासनले  जनाएको छ।

प्रकाशित: ७ श्रावण २०८३ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App