२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

बारा र पर्साका २० पालिकामा हैजाविरुद्धको खोप अभियान

भदौमा हैजा प्रभावित तराईका दुई जिल्लाका २० स्थानीय तहका नागरिकलाई हैजाविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ ।  

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अनुसार पर्सा जिल्लाको १४ वटा पालिकाबाट र बारा जिल्लाको ६ स्थानीय तहमा यो खोप अभियान सञ्चालन हुँदैछ । खोप असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन हुने कार्यक्रम छ । गत भदौ महिनामा पर्साको मुरली टोलवाट फैलिएको हैजाले धेरै प्रभावित भएपछि हैजा विरुद्धको खोप दिने गरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले खोपको व्यवस्थापन गरेको हो ।  

हाल १० लाख १८ हजार एक सय मात्रा खोप यी दुई जिल्लामा पठाउने तयारी गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिाका, प्रवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा अभियान सञ्चालने हुनेछ ।  

त्यसैगरी पर्साका १४ वटै  पालिकामा सञ्चालन हुनेछ । यी दुई जिल्लाका २० वटा स्थानीय तहमा सञ्चालन हुने खोप अभियान सरकारी/निजी स्वास्थ्य संस्थाहरु, विद्यालय, कलेज या अन्य शिक्षण संस्था, मन्दिर, मस्जिद, बसपार्क, नेपाल भारत सीमानाका मुख्य नाकाहरु, उद्योग, कारखाना, इट्टा-भट्टा, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, स्कुल तथा कलेजहरुमा खोप केन्द्र रहनेछन ।  

गत भदौमा यी क्षेत्रमा हैजा फैलिएको र बाढी पहिरोपछि संक्रमणको थप जोखिम रहेकोले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्नु परेको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक  कुमार लालले बताए ।  

‘तराइका यी जिल्लामा भदौमा हैजाको महामारीवाट १६ सय ८५ जनामा पुष्टि भएको थियो, बाढी–पहिरोपछि जोखिम बढेको हुनाले दिन लागेका हौ’ उनले भने ।  

विकसित देशमा नियन्त्रण भइसकेको हैजा नेपालमा भने अहिले पनि बर्सेनी देखिनुमा सहकार्यको कमी भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बराकोटीले बताए । उनको अनुसार खानेपानी, ढल व्यवस्थापन, आम नागरिकले स्वच्छतामा ध्यान दिन सकेमा नेपालमा हैजा उन्मुलन सम्भव भएको बताए ।  

महाशाखाका अनुसार खोपबाट दिइने यो खोप ‘इयूभिकोल– एस’ नामक खोप विश्व स्वास्थ्य संगठनवाट गुणस्तरयुक्त प्रमाणित भएको र नेपालस्थित औषधी व्यवस्था विभागबाट पनि अनुमति प्राप्त रहेको महाशाखाले जनाएको छ ।  यो खोप अभियानको लागि कोर्डिनेसन ग्रुप अन भ्याक्सिन प्रोभिजनको सहयोगमा प्राप्त खोप सञ्चालन अभियानमा भने विश्व स्वास्थ्य संगठन, युनिसेफको प्राविधिक सहयोग छ ।  

प्रतिकार्यको रुपमा खोप दिन लागिएको ह्नाले यो खोप एक पटक मात्र दिइने महाशाखाले जनाएको छ । एक वर्ष माथिका सबै उमेरका व्यक्तिले यो खोप लिन सक्नेछन । कुपोषण भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, एचआइभी संक्रमण भएका या एड्स भएका व्यक्तिलाई पनि यो खोप लिन मिल्छ । तर एक वर्ष भन्दा कम उमेरका, झाडापखाला लागिरहेका या सिकिस्त बिरामीले यो खोप लिनु हुँदैन । खोप लिएपछि सन् १९९० मै बनिसकेको र विभिन्न देशमासमेत प्रयोग भइसकेको हुनाले यसको कुनै स्वास्थ्यगत जोखिम नरहेको महाशाखा प्रमुख डा. लालले बताए ।  

महाशाखाका अनुसार यो खोप हैजाबाट सुरक्षित हुन, हैजा महामारी भएका ठाउँबाट अन्य ठाउँमा सर्न नदिन उपयोगी हुनेछ । यो खोप लिएपछि केही सामान्य असरहरु देखिन्छ । पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, मांशपेशी दुख्ने, खाना मन नलाग्ने, थकाइ लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ चिलाउने जस्ता लक्षण पनि देखिन सक्छन । तर यी लक्षणहरु पछि सामान्य हुने चिकित्सकले बताएका छन् ।  

पहिला यो खोप लिँदा एलर्जी भएका व्यक्तिलाई स्वास्थ्यकर्मीलाई पहिला नै जानकारी गराउनु पर्नेछ ।  

खोप लिएपछि पनि हरेक नागरिकले स्वच्छ पानी तथा खाना र सफाइमा उत्तिकै ध्यान दिन आवश्यक रहेको महाशाखाले जनाएको छ । शुद्ध पानी पिउने, शौचालयको प्रयोगपछि साबुनपानीले राम्रोसँग हात धुने व्यवहारलाई अनिवार्य अपनाउनु पर्ने सुझाएका छन ।

 

 

प्रकाशित: २३ आश्विन २०८२ १६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App