वीरगञ्जमा हैजाको महामारी फैलिएपछि सर्वसाधारण पलायन हुन थालेका छन् । वीरगञ्जमा डेरा गरी बस्नेहरु, अन्यत्र स्थायी पुर्खौली घर भई वीरगञ्जमा घर बनाएर बसेकाहरु तथा सानोतिनो बेपार गरी बस्नेहरु वीरगञ्जबाट पलायन हुँदै छन् ।
गत शुक्रबारदेखि वीरगञ्ज महानगरमा झाडापखाला तथा हैजाको महामारी फैलिएको हो । महामारीले विकराल रुप लिँदै गएपछि वीरगञ्ज जाने मानिसहरुको संख्या पनि निकै कम भइसकेको छ । वीरगञ्जमा किनमेल गर्न जाने तथा उपचार र अन्य कामको शिलशिलामा जानेहरु निकै कम भइसकेका छन् ।

वीरगञ्जको सडक खाली खाली भइसकेको वडा नम्बर ११ का स्थानीयवासी पंकज मिश्र बताउँछन् । उनी भन्छन्- सधैँ भरिभराउ रहने र बाटो काट्न मुश्किल हुने मुर्लीको सडकमा अहिले निकै कम मान्छे मात्र देखिएका छन् ।
हैजा महामारी फैलिएपछि डरले बालबच्चासहित आफ्नो घर फर्किसकेको बारा देवताल गाउँपालिका २ की प्रमशीला देवी बताउँछिन् । गत आइतबारदेखि विद्यालयहरु बन्द रहेको तथा जताततै महामारीको त्रास फैलिएको कारण वीरगञ्ज १० को डेरा छाडी छोराछोरीसहित घर फर्केको प्रमशीलाको भनाइ छ । उनी भन्छिन्, ‘भाडामा बस्नेहरु जति सबै पलायन भएपछि आफूहरु पनि घर फर्केका छौँ ।’

फुटपाथमा पसल गर्नेहरु, अरुको पसलमा काम गर्नेहरु तथा निजी विद्यालयमा पढ्ने र पढाउनेहरु घर फर्केका छन् । वीरगञ्जमा विभिन्न पेसा र व्यवसाय अपनाउने हजारौँ भारतीय पलायन भइसकेका छन् । वीरगञ्ज महानगरमा बसोबास गर्नेहरुले पनि कोभिडको समयको जस्तो एकले अर्काको नजिक नपर्ने र कसैले कसैलाई नछुने व्यवहार हुन थालेपछि समुदायस्तरमा निकै त्रास फैलिएको छ ।
सबैतिर त्रास फैलिएपछि विकल्प हुनेहरु वीरगञ्जमा बस्न नचाहेको स्थानीयहरु बताउँछन् । चाडपर्वको समय भएकोले पनि वीरगञ्जमा केही मानिसको संख्या कम भएको स्थानीयको अनुमान छ ।
प्रहरीले पनि गर्यो आन्तरिक सर्कुलर
वीरगञ्ज महानगरमा हैजाको महामारी फैलिएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आन्तरिक सर्कुलर जारी गरेको छ । जिप्रका पर्साले सबै प्रहरी युनिटलाई हैजाको प्रोटोकल पालना गर्न आन्तरिक सर्कुलर जारी गरेको हो ।
सरसफाइमा ध्यान दिन, तातो पानी पिउन तथा हैजाका अन्य सावधानीहरु अपनाउन जिप्रका पर्साले सर्कुलर जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एसपी गौतम मिश्रले प्रहरी कर्मचारीमा पनि शंकास्पद बिरामी भेटिएको जानकारी दिँदै सबै किसिमको सावधानी अपनाउन निर्देशन जारी गरिएको बताएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरका एक जना प्रहरी कर्मचारीमा शंकास्पद अवस्था देखिएको र उपचार भइरहेको एसपी मिश्रले बताएका छन् ।

शुक्रबारसम्म विद्यालय बन्द
वीरगञ्ज महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु भदौ १३ गते शुक्रबारसम्म बन्द गरिएका छन् । मंगलबार बसेको सरोकारवाला निकायको बैठकले वीरगञ्जमा फैलिएको महामारीलाई मध्यनजर गर्दै विद्यालयहरु थप तीन दिन बन्द गर्ने निर्णय गरिएको हो ।
गत आइतबार र सोमबार दुई दिनको लागि बन्द गरिएका विद्यालयहरु बन्द गरिएका थिए । मंगलबार तीजको लागि स्वतः विद्यालयहरु बन्द हुन्छन् । बुधबारदेखि शुक्रबारसम्म थप तीन दिन नगर प्रमुख स्तरीय बैठकको निर्णयबाट विद्यालयहरु बन्द गरिएको हो ।

प्रयोगशालामा परीक्षण गरेका १० नमुना मध्ये ८ जनामा पुष्टि
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमडौले परीक्षण गरेका वीरगञ्जमा उपचाररत बिरामीको दिसाको नमूनाहरूमा समेत हैजाको संक्रमण देखा परेको छ । प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टले जनाए अनुसार कुल १० नमुनामध्ये ८ जना बिरामीको नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट बुधबार आउने जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले वीरगञ्जका अस्पतालबाट प्राप्त बिरामीको दिसाकाहरुको गरिएको कल्चर परीक्षणमा ८० प्रतिशत भन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको जोखिम बढेको डा. भट्टले बताए ।
डिस्चार्ज हुँदै हैजाका बिरामी
वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरु उपचार पछि डिस्चार्ज भएर घर फर्किरहेका छन । महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म हैजा र झाडापखलाका १७१ जना बिरामी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेको जनाएको छ ।

शुक्रबारदेखि ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका विभिन्नी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तीमध्ये उपचारपछि १७१ जना घर फर्किएको जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले बताए । वीरगञ्जका अस्पतालमा अहिले झाडापखला र हैजा गरी २२० जना बिरामी उपचाररत छन् । मंगलबारसम्म वीरगञ्जमा ९५ जनामा हैजाको संक्रमण पुष्टि भएको ठाकुरले बताए ।
वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश र संघ सरकारको समन्वयमा महानगरपालिकाले शनिबारदेखि नै युद्धस्तरमा काम गरिरहेकाले संक्रमण नियन्त्रण उन्मुख रहेको प्रतिकृया दिए ।
प्रकाशित: १० भाद्र २०८२ १८:३० मंगलबार





