२५ आश्विन २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालमै उत्पादित कार–टी सेल बिरामीमा प्रयोग

नेपालमा उत्पादित कार–टी सेलद्वारा एक रक्तक्यान्सरका बिरामीको उपचार गरिएको छ । टिचिङ अस्पताल महाराजगन्जमा उपचारार्थ १७ वर्षीय किशोरमा उक्त उपचार गरिएको चिकित्सकहरूले जानकारी दिएका छन्। नेपालमा पहिलोपटक कार–टी सेल उत्पादन गर्ने सेन्टर फर रिजेनेरेटिभ नेपाल (सिआरएम) का वैज्ञानिक समूह तथा टिचिङ अस्पतालका रक्त क्यान्सर विशेषज्ञ समूहले उक्त उपचारका बारेमा प्रस्तुति दिएका हुन्।

सेल थेरापीपछि उपचार गरिएका बिरामीको स्वास्थ्यस्थिति स्थिर रहेको र थेरापीको प्रभाव पनि राम्रो देखिएको उपचारमा संंलग्न टिचिङ अस्पतालका हेमाटो अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठ र डा. प्रसुन उपाध्यायले बताए । उपचारपूर्वको तयारी, उपचारपछिको निगरानी र उपचार विशेषपूर्वक गरिएको उनीहरूले बताए ।

किशोरलाई असोज ११ गते उक्त थेरापीद्वारा उपचार गरिएको हो। उनीहरूका अनुसार बिरामीमा औषधीको पूरै प्रभाव या पूर्णरूपमा निको भएको यकिन गर्न भने थप एक वर्ष निगरानीमा राख्नुपर्ने छ । किमोथेरापी दिएपछि क्यान्सर पुनः नबल्झियोस् भन्ने उद्देश्यले कार–टी सेल उपचार गरिन्छ । कार–टी सेल बिरामीकै टी–सेल (प्रतिरोधात्मक क्षमता दिने एक प्रकारको कोष) प्रयोग गरी टी सेललाई जेनेटिक रूपमा परिमार्जन गरेी क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गर्न सक्ने बनाइन्छ। प्रयोगशालामा संख्या बढाइन्छ र फेरि बिरामीकै शरीरमा चढाइन्छ । यो उत्पादनले सिडी– १९ लाई लक्षित गर्छ, जुन रगत क्यान्सरमा पाइने मार्कर हो।

यो उपचार विश्वमा दशकअघि आएको भए पनि नेपालमा हालै मात्र आएको हो। अति विकसित देशले भित्र्याएको यो उपचार पद्धति नेपालमै उत्पादन हुनुलाई विज्ञहरूले क्यान्सर उपचार क्षेत्रमा ठुलै फट्को मानेका छन्। ‘कार–टी सेल थेरापी नेपालमै उत्पादन हुनु क्यान्सर उपचारमा ठुलो फट्को हो । म आश्चर्यचकित परेको छु’, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले भने । कार–टी सेलको प्रारम्भिक नतिजा उत्साहजनक रहेको सिआरएम नेपालले जनाएको छ । ‘बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहाजनक रूपमा बढेको पाएका छौं । उपचार विधिमा आशाजनक रहेको यसले संकेत गर्छ’, वैज्ञानिक सज्वीवन गौतमले भने। डा. गौतमले सन् २०२२ देखि यो अभियानको नेतृत्व गर्दै आएका छन्।

प्रकाशित: २४ आश्विन २०८३ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App