२३ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

वीरगञ्जमा हैजा नियन्त्रण बाहिर: संक्रमितको संख्या दोब्बर, भरिभराउ अस्पताल

हैजा नियन्त्रणमा तीनै तहका सरकारको दौडधुप

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण बाहिर गएपछि सहरलाई महामारीबाट जोगाउन तीनै तहका सरकार ‘युद्धस्तर’ मा मैदानमा उत्रिएका छन्।

२४ घण्टाको अवधिमा संक्रमितको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएर ७१ पुगेपछि र अस्पतालहरू बिरामीले भरिएर भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको दौडधुप सुरु भएको हो।

शनिबार साँझसम्म ३६ जनामा पुष्टि भएको हैजाको संक्रमण आइतबार साँझसम्ममा ७१ पुगिसकेको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार एकैदिन थप २९ जनामा संक्रमण देखिएको हो।

महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, अहिले विभिन्न अस्पतालमा झाडापखाला र हैजाका गरी १६१ जना बिरामी उपचाररत छन् र यो संख्या बढ्दो क्रममा छ।

संक्रमण सुरुमा ५ वटा वडामा देखिएकोमा अहिले वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ मा फैलिसकेको छ। महामारी समुदायस्तरमा अनियन्त्रित ढंगले फैलिरहेको छ।

केन्द्रदेखि प्रदेशसम्मको दौडधुप

वीरगञ्जको अवस्था भयावह बनेपछि आइतबार तीनै तहका सरकारका उच्चस्तरीय टोलीहरू फिल्डमा खटिएका छन्।

सङ्घीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट दुई जना विज्ञ चिकित्सकको टोली वीरगञ्ज पठाएको छ। टोलीले अस्पताल र प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी नियन्त्रणको रणनीति बनाइरहेको छ।

यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ आफैँ प्राविधिक टोलीसहित वीरगञ्ज आइपुगेका छन्। उनको टोलीले संक्रमणको मुख्य जड मानिएको खानेपानीको नमूना संकलन र परीक्षणलाई तीव्रता दिएको छ।

श्रेष्ठले भने, ‘हामीले पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेका छौं।’

मधेश प्रदेश सरकार पनि महामारी नियन्त्रणमा गम्भीर देखिएको छ। प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघनप्रसाद सिंहले स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञ टोली परिचालन गरिएको जानकारी दि‌ए।

मन्त्री सिंहको निर्देशनमा स्वास्थ्य महाशाखाका आपूर्ति प्रमुख डा. विपनकुमार झा नेतृत्वको अर्को टोलीले नारायणी अस्पताललाई १७ प्रकारका औषधि र आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

घरदैलोमा स्वास्थ्यकर्मी, सहरमा आपत्काल

स्थानीय स्तरमा वीरगञ्ज महानगरपालिकाले महामारीविरुद्धको लडाइँलाई थप आक्रामक बनाएको छ। नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरले स्वास्थ्यकर्मी र नर्सिङका विद्यार्थीसहितको २६ वटा टोली गठन गरी प्रभावित क्षेत्रका घर-घरमा पठाएको छ।

‘टोलीले हरेक घरमा पुगेर अवस्थाको जानकारी लिने, सम्भावित बिरामी पहिचान गर्ने र सरसफाइबारे सचेतना फैलाउने काम गरिरहेको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले भने।

महानगरले यसअघि नै दुई दिनका लागि विद्यालय बन्द गर्ने र सडकमा पानीपुरी, चाटजस्ता खानेकुरा बेच्न प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ।

धारामा ढलको पानी

महामारीको पछाडिको मुख्य कारण खानेपानीको पाइपलाइनमा ढल मिसिनु रहेको बलियो आशंका छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, संक्रमित भेटिएका अधिकांश टोलमा खानेपानीको पाइप फोहोर नाला हुँदै गएको छ।

‘कतै पाइप फुटेर नालाको दूषित पानी धारामा मिसिएको हुनसक्छ। हामीले पानीको नमूना परीक्षणका लागि काठमाडौं पठाएका छौं, रिपोर्ट आएपछि यकिन कारण थाहा हुन्छ,’ उनले सुनाए।

महामारीको यो कहरबीच वीरगञ्जले आफ्ना दुई नागरिकलाई गुमाइसकेको छ। नारायणी अस्पतालमा एक ३५ वर्षीय पुरुष र वीरगञ्ज हेल्थकेयरमा एक १९ वर्षीया युवतीको झाडापखालाबाट मृत्यु भएको थियो।

अस्पतालको क्षमताले नभ्याएर हाल कयाैं बिरामीहरू भुइँमा छटपटाइरहेका छन्।

प्रकाशित: ८ भाद्र २०८२ २१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App