वीर अस्पतालको जेनेटिक ल्यावमा सीमित अनुवांशिक समस्याको परीक्षण हुने गरेकोमा अब क्यान्सरसहित थप समस्याको प्रयोगशाला थपिने तयारी भइरहेको छ।
वीरले नेपालमै सुरु नभएको क्यान्सर जिन सिकेन्सिङ सेवा विस्तार गर्ने तयारी थालेको हो । अहिलेसम्म सीमित अनुवांशिक समस्याको परीक्षण भइरहेकोले नेपालमा क्यान्सर लगायत अन्य अनुवांशिक रोगका बिरामी समस्यामा परिरहेका थिए ।
नेपालमा क्यान्सर तथा अन्य अनुवांशिक रोगको परीक्षण हुन नसकेको दृष्यले आफूले प्रयोगशाला विस्तारको निरन्तर प्रयास गरेको वीर अस्पताल जेनेटिक विभाग प्रमुख डा. निलम ठाकुरले बताइन ।
उनले यसको ‘नेक्स्ट जेनेरेशन जिन सिक्वेन्सिङ’ मेशिन ल्याउन आवश्यक पहल भइरहेको बताइन । यसको साथै प्रयोगशाला विस्तार गर्न आवश्यक सामाग्री समेत माग भइरहेको छ ।
आवश्यक मेशिनको लागि डा. ठाकुरले विगत चारवर्षदेखि स्वास्थ्य, अर्थ र राष्ट्रिय योजना आयोगमासमेत प्रस्ताव राखिसकेको बताइन । पटक–पटकको प्रयासपछि यो वर्ष प्रस्ताव पुरा हुने सम्भावना देखिएको ठाकुरको भनाइ छ ।
‘केही दातृनिकायसहित स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको छ,यो पटक हामीलाई सहयोग हुने देखिएको छ ’ विभागकी प्रमुख ठाकुरले भनिन । ‘केही दिनमा दोस्रो चरणको बैठक हुन्छ, त्यसपछि थप प्रक्रिया अघि बढ्छ’ उनले भनिन ।
यी मेशिनसहित आवश्यक सामाग्रीको लागि करिव दशदेखि पन्ध्र करोड रुपैंया बजेट आवश्यक पर्छ । डा. ठाकुरका अनुसार यो मेशिन आएपछि क्यान्सरसहित अन्य अनुवांशिक परीक्षण गर्न सकिन्छ । क्यान्सर भइसकेको व्यक्तिमा कुन प्रकारको क्यान्सर छ भनेर पहिचान गर्न, परिवारिक तथा अनुवांशिक क्यान्सर कुनै व्यक्तिमा छ कि छैन भनेर यकीन गर्न यो परीक्षण उपयोगी हुन्छ ।
क्यान्सरको अनुवांशिक परीक्षणले क्यान्सर हुनु पूर्व नै अपनाइने उपचार र भइसकेकालाई छिटो पहिचान र कुन उपचार आवश्यक छ भनी पहिचान गर्न सकिने डा. ठाकुर बताउँछिन ।
‘क्यान्सर हुने सम्भावना भएको नभएको समयमै पत्ता लगाउन सकिन्छ, भएको क्यान्सरमा सही उपचार गर्न सकिन्छ’ उनले भनिन ।
उनका अनुसार जुन परीक्षण हालसम्म नेपालमा हुन नसक्दा बर्सेनी धेरै क्यान्सरका बिरामी महँगो उपचारको मारमा छन् । सबै अस्पतालले क्यान्सरको अनुवांशिक परीक्षण गर्न भारत पठाउनुपर्ने भएकाले महंगो छ । ढिलो रिपोर्ट आउँदा बिरामीको उपचारमा पनि ढिलाइ हुने गरेको देखिन्छ’ उनले भनिन ।
‘भारतमा पठाउँदा चालिसदेखि एक लाख रुपैयासम्म शुल्क लिने गरेको देखिन्छ, त्यही जाँच हाम्रो प्रयोगशालामा भयो धेरै कम शुल्कमा सम्भव हुन्छ’ उनले भनिन ।
नेपालमा पूर्ण जिन सिक्वेन्सिङ प्रयोगशालाको कमीले सीमित अनुवांशिक समस्याको मात्र पहिचान हुने गरेको ठाकुर बताउँछिन । अब विस्तार हुने होल जिन सिक्वेन्सिङ मेशिन भएमा बाँझोपना, गर्भ तुहिनेसहित थुप्रै अनुवांशिक रोगहरु पहिचान हुनेछन् । यो मेशिनको अभावमा नेपामला जटिल अनुवांशिक रोगको पहिचान हुन सकेको थिएन । जुन समस्या नेपालमा धेरै देखिन्छ । अस्पतालमा आउने गम्भिर अनुवांशिक समस्या सबैको परीक्षणले मात्र अनुवांशिक रोगको प्रकोप घटाउन सम्भव भएको ठाकुरले बताइन ।
यसका साथै सबै खालका अनुवांशिक रोगको स्थिति पहिचान गरी उपचारमा नियम बनाउन सहज हुने उनको भनाइ छ ।
प्रकाशित: ३ मंसिर २०८२ १६:३६ बुधबार





