१ असार २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पताल: निःशुल्क परीक्षण शिविरमा पनि आएनन् बिरामी

भक्तपुर क्यान्सर अस्पतालले मुखको क्यान्सरको जोखिममा रहेका व्यक्तिका लागि निःशुल्क परीक्षण क्लिनिक सञ्चालन गरेको छ। तर, अपेक्षाअनुसार बिरामीको उपस्थिति हुन नसकेको अस्पतालले जनाएको छ।

अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर गत आइतबारदेखि निःशुल्क मुख क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको हो। तर शिविरमा बिरामीको संख्या अत्यन्त न्यून रहेको अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए।

“पाँच दिनको अवधिमा १०–१५ जना मात्र परीक्षणका लागि आएका छन्,” उनले भने।

दिवसको अवसरमा अस्पतालले मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण, सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई सुर्ती त्याग्न परामर्श तथा जनचेतनामूलक सेवा प्रदान गरिरहेको छ।

समाजमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या धेरै भए पनि जानकारीको अभाव वा बेवास्ताका कारण जोखिम समूहका व्यक्तिहरू परीक्षणका लागि नआएको हुन सक्ने डा. चालिसेको भनाइ छ।

शिविर अझै दुई दिन सञ्चालन हुने भएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गराउन आउन उनले आग्रह गरेका छन्।

“लामो समयदेखि सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरूमा मुख तथा घाँटीको क्यान्सरको जोखिम बढी हुन्छ। समयमै परीक्षण गरेमा उपचार सम्भव हुन्छ,” उनले भने।

उनका अनुसार शिविरमा सुर्ती त्याग्न चाहनेहरूलाई आवश्यक परामर्श र उपायहरू पनि उपलब्ध गराइँदैछ। निःशुल्क परीक्षण शिविर शुक्रबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २० जेष्ठ २०८३ १८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App