२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरका तीन सांसदसहित नौ जनाको मृत्युपछि अंगदान गर्ने घोषणा

विश्व अंगदान दिवसको अवसरमा भक्तपुरका तीन सांसदसहित नौ जनाले मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन्। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, दूधपाटी, भक्तपुरले अंगदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार आयोजना गरेको कार्यक्रममा उनीहरूले मृत्युपछि अंगदान गर्ने प्रतिबद्धता जनाएका हुन्।

भक्तपुरका सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गंगालक्ष्मी अवाल तथा पूर्वसंविधानसभा सदस्य विन्दा पाण्डेसहित नौ जनाले अंगदान गर्ने घोषणा गरेका हुन्। केन्द्रका अनुसार हालसम्म नेपालमा २ हजार ७ सय ९९ जनाले मस्तिष्क मृत्यु पश्चात् अंगदान गर्ने मञ्जुरी दिएका छन्।

कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले जीवित व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्दा दाता र बिरामी दुवैको उपचार तथा स्वास्थ्य व्यवस्थापनमा थप खर्च हुने भएकाले मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानलाई प्राथमिकता दिनुपर्ने बताइन्।

मस्तिष्क मृत्यु पश्चात् प्राप्त अंगबाट प्रत्यारोपण गर्न सके उपचार खर्च कम हुनुका साथै जीवित व्यक्तिबाट अंग निकाल्नुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ थियो। यसबाट जीवित दाताको स्वास्थ्यमा आउन सक्ने जोखिमसमेत घट्ने उनले बताइन्।

कार्यकारी निर्देशक श्रेष्ठले प्रत्यारोपण केन्द्रको भौतिक संरचना विकास तथा सेवा विस्तारका लागि उपयुक्त स्थानमा आवश्यक जग्गा र भवनको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिन्।

कार्यक्रममा केन्द्रका प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले विश्वभर मिर्गौला रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यसको पहिचान, उपचार तथा रोकथामका उपायबारे जनचेतना विस्तार गर्न आवश्यक रहेको बताए।

नेपालमा मिर्गौला फेल भएर धेरै मानिस समस्यामा पर्ने र आवश्यक अंग उपलब्ध हुन नसक्दा कतिपय बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए। अंगदानसम्बन्धी यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा अंगदानप्रति सकारात्मक धारणा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

डा. श्रेष्ठले प्रत्यारोपण केन्द्रको भौतिक पूर्वाधार विकाससँगै स्वास्थ्यकर्मी तथा कर्मचारीको वृत्ति विकासमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरे।

कार्यक्रममा मस्तिष्क मृत्यु पश्चात् अंगदान गर्ने दाताका परिवारका सदस्य तथा अंगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालहरूलाई सम्मान गरिएको थियो।

सांसदहरू राजीव खत्री, रुकेश रञ्जित र गंगालक्ष्मी अवालले अंगदानसम्बन्धी जनचेतना विस्तारका लागि आफूहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनीहरूले अंगदानका माध्यमबाट नेपाली नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने तथा प्रत्यारोपण केन्द्रका लागि आवश्यक भवन र पूर्वाधार व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

विश्व अंगदान दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, स्वास्थ्यकर्मी, अंगदाताका परिवारका सदस्य तथा सरोकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा जीवित दाताबाट हुने अंगदानसँगै मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानबारे जनचेतना फैलाउने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।

 

प्रकाशित: २८ श्रावण २०८३ १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App