१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा उत्पादित क्यान्सरको औषधि भारतमा माग

नेपालमा हालै उत्पादित क्यान्सरको औषधि भारतबाट समेत माग भइरहेको उत्पादित कम्पनी टिजिग फर्माले जनाएको छ।

निजी औषधि कम्पनी टिजिग फर्माले नौ महिना अघि मात्र पहिलो पटक नेपाली बजारमा क्यान्सरको औषधि उत्पादन गरेको थियो। नेपालका क्यान्सरका बिरामीहरुले प्रयोग गरिरहेको सो औषधिहरु हालै भारतको टाटा मेमोरियल अस्पतालमा उपचारर्थ क्यान्सरका बिरामीहरुले माग गरेको फर्मा कार्यकारी निर्देशक शैलेश वैद्यले जानकारी दिए।

बिहिबार सञ्चारकर्मीहरु माझ नेपाली र भारतीय बजारमा समेत औषधिको प्रयोग भइरहेको फर्माले जानकारी दिएको हो। भारतको टाटा मेमोरियल अस्पतालमा उपचारर्थ बिरामीहरुले औषधि माग गरेपछि आपूर्ति गरिसकेको टिजिग फार्माका कार्यकारी निर्देशक शैलेश वैद्यले बताए।

‘भारतका तीन जना बिरामीले हाम्रो औषधि प्रयोग भइसक्यो, थप पाँच जनाले माग गरेका छन्’ उनले भने। भारतीय बिरामीले कम्पनीको वेभसाइटबाट  खोज गरी स्थानीय औषधि विभागबाट अनुमति लिएर नेपालबाट औषधि मगाएका थिए।

नेपालमा क्यान्सर रोगमा आवश्यक किमोथेरापी र टार्गेटेड थेरापीमा प्रयोग हुने ३४ प्रकारको औषधि उत्पादन भइरहेको छ भने ५३ प्रकारका औषधि उत्पादनको लागि औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ। ती मध्येमा १४ प्रकारका मलिक्युलबाट बनेको २३ किसिमका औषधि बिक्री वितरणको लागि अनुमति पाइसकेको छ। नेपालमा उत्पादित क्यान्सरको औषधि चीन र अफ्रीकामा समेत लैजाने प्रयास भइरहेको फार्माले जनाए।

पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो। शुल्क नतिरी उत्पादन गर्ने अनुमति पाएकोले नेपालमा उत्पादित क्यान्सरका औषधिहरु अन्य देशबाट पाइने औषधिको तुलनामा सुलभ मूल्यमा पाइने भएकोले नेपालका क्यान्सरका बिरामीहरुको पहुँचमा पुगेको निर्देशक वैद्यले बताए।

नेपालमा उत्पादन हुनुअघि यो औषधि भारत तर अन्य  देशबाट आयत गर्नु पर्ने भएकोले खोजेको बेलामा नपाइने र नेपालमा उत्पादित औषधिको तुलनामा अत्यन्त महंगो पर्दा बिरामीहरु मर्कामा परेको टिजिग फर्माका प्राविधिक प्रमुख सरोज पौडेलले बताए। ‘आयतित औषधिको तुलनामा ३० देखि ३५ प्रतिशत सस्तो मूल्य पर्छ’ वैद्यले भने।

नेपालमा उत्पादित क्यान्सरका औषधिहरु नेपालमा प्रयोग भइरहेको र औषधिको नकरात्मक असर नदेखिएको उनीहरुले दाबी गरेका छन्। ‘साइड इफेक्ट देखिएका औषधिहरु फिर्ता आउँछन्, त्यो हाम्रो औषधिमा  देखिएको छैन’ प्रविधी प्रमुख पौडेलले भने। कम्पनीले भविष्यमा क्यान्सरका धेरै प्रकारका औषधिहरु उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए।

क्यान्सरको औषधि उत्पादनमा आवश्यक प्रविधी र कच्चा पदार्थ आयत गरी ल्याउनु पर्ने र अत्यन्त महंगो पर्ने र नेपालमा प्रति वर्ष ४३ हजार जना क्यान्सरका नयाँ बिरामी हुनुले आवश्यकता अनुसार मात्र औषधी उत्पादन भइरहेको उनले जानकारी दिए।

नेपालमा पहिलो पटक चुनौतीको बीचमा टिजिग फार्माले क्यान्सरको औषधि उत्पादन गरेको कारण अन्तराष्ट्रिय संस्था वल्र्ड वुक अफ रेकर्ड लन्डनले फार्माका निर्देशक शैलेश वैद्यलाई सर्टिफिकेट अफ एक्सिलेन्सबाट सम्मानित गरिएको छ। सम्मानित हुँदा यो कार्यक्षेत्रमा थप हौशला प्रदान भएको फर्माका निर्देशक वैद्यले बताए।

प्रकाशित: २५ कार्तिक २०७९ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App