६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

विराट शिक्षण अस्पतालमा ५ करोड घोटाला, १० जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पताल प्रशासनले ५ करोड बढी रकम घोटाला भएको दाबी गरेको छ।

शिक्षण अस्पतालले जिल्ला प्रहरी कार्यालय मोरङमा ५ करोड रुपैयाँ कर्मचारीले घोटाला गरेको भन्दै ‘ठगी’ मा जाहेरी दिएको हो। अस्पताल प्रशासनले बिलिङ एण्ड डिस्चार्ज शाखाका प्रमुख सुनबर्षी नगरपालिका–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय आश्विन भट्टराईविरुद्ध जाहेरी दिइएको हो।  

कात्तिक ३ गते अस्पताल प्रशासनले दुर्गाबहादुर विष्ट र आश्विन भट्टराईविरुद्ध जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालेको मोरङ प्रहरीका प्रवक्ता डिएपी दीपक श्रेष्ठले बताए। उनले भने, ‘विष्ट र भट्टराईलाई पक्राउ गरी अनुसन्धानका क्रममा घटनामा संलग्न भएका थप ८ जनालाई पक्राउ गरिएको छ। अस्पतालले प्रहरीमा जाहेरी दिएसँगै आन्तरिक छानबिन पनि गरेको थियो।’

अरु कर्मचारीहरु मोरङको बुढीगंगा–१ का २१ वर्षीय करण विश्वकर्मा, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, बुढीगंगा–२ का २७ वर्षीय प्रभुनारायण चौधरी, २८ सुनील पासवान, बुढीगंगा–४ का २३ वर्षीय वसन्तकुमार राम, बुढीगंगा–७ का २८ वर्षीय दीपेन्द्र तवदार, बुढीगंगा–९ का २६ वर्षीय सुशील पासवान र ग्रामथान गाउँपालिका–५ का २३ वर्षीय नरनारयाण चौधरीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ।

घोटालाको अनुसन्धानका क्रममा थप पक्राउ परेका ८ जनाको पनि संलग्नता देखिएको छ। पक्राउ परेका १० जनाविरुद्ध ‘ठगी’ कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। पक्राउ परेकाहरुले विभिन्न ‘युजर आइडी’ बनाएर र विभिन्न तरिकाबाट रकम घोटाला गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।  

प्रहरीमा जाहेरी दिए पनि अस्पताल प्रशासनले आन्तरिक रुपमा छानबिन गर्दै आएको थियो। हालसम्मको अनुसन्धानबाट कर्मचारीहरु मिलेर विभिन्न तरिकाले ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ घोटाला गरेको खुलेको हो।

अस्पतालका अनुसार पक्राउ परेकाहरुले नक्कली कारोवार गर्दै वास्तविक बिरामीको खाताबाट धरौटी वापतको रकम फिर्ता लगेको देखिएको छ। नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रूपैयाँ छुट देखाएर रकम घोटाला गरेको जानकारी अस्पतालले दिएको छ।

अस्पतालको आन्तरिक छानविन र प्रहरीको हालसम्मको अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ घोटाला भएको देखिए पनि थप रकम घोटाला भएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० कार्तिक २०७९ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App