७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘डेंगी संक्रमितले नरम र पोषणयुक्त खानेकुरा खानू’

हाल धेरै जनामा फैलिरहेको डेंगीमा कतिपय बिरामी कस्तो खाना खाने र कस्तो खाना नखाने भन्ने विषयमा अन्यौलमा परेका छन्। डेंगी संक्रमितहरूको उपचार गरिरहेका चिकित्सकहरू भने पोषणयुक्त र झोलयुक्त खाना खान सुझाएका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका न शाखाका संयोजक डा. शेरबहादुर पुनले धेरै बिरामी के खाने भन्ने विषयमा अन्यौल परेर आवश्यकता नभएका खानासमेत खान पुगेको बताए। ‘कतिपयले अनेक जडीबुटीको जुस बनाएर पिएको सुनिन्छ। यसको फाइदाका बारेमा वैज्ञानिक जानकारी छैन’ उनले भने।  

कतिपयले अम्बा र मेवाको पातको जुस बनाएर पिएको पनि सुनेको छु र यस्ता खानाको डेंगीमा फाइदा पुगेको आधार पुष्टि नभएको टिचिङ अस्पतालका फिजिसियन तथा छातिरोग विशेषज्ञ डा. निरज बमले बताए। चिकित्सकका अनुसार डेंगी संक्रमित बिरामीमा खान मन नलाग्ने र कतिपय अवस्थामा बान्ता हुने समस्या भएकाले सहज हुने प्रकारका खाना खान सकिन्छ। भाइरसका कारणले शरीर कमजोर भएको हुनाले कडा खानेकुरा पचाउन नसकिने हुनाले सकेसम्म नरम तथा झोलिलो खानेकुरा खाएमा सजिलो हुने सुझाए। खानामा लवण, भिटामिन, पोषण भएका खानेकुराले फाइदा पुग्ने सुझाए। गेडागुडी, सागपात, मासुलगायतका खानेकुराको झोल, फलफूल, अन्य तरकारीको सुप प्रर्याप्त मात्रामा खानाले शरीरमा संक्रमणले देखिएको जलवियोजन तथा अन्य खालका कमजोरीमा लाभ मिल्ने डा. पुन बताउँछन्।  

डेंगी संक्रमणले रगतमा प्लेटलेटको मात्रा घट्ने तर डेंगी घट्दै जाँदा र नियमित पोषणयुक्त खाना खानाले प्लेटलेट स्वतः बन्दै जाने हुनाले बिरामीले सक्दो मात्रामा सन्तुलित खानामा जोड दिनु पर्ने डा. बमको सुझाव छ। ‘यो रुचेन, त्यो रुचेन भनेर खाना खान रोक्नुहुँदैन,’ उनले भने। संक्रमणले वान्ता आउने अवस्थाबाहेकमा बिरामीले अन्य समयमा जस्तै सामान्य खानेकुरा खानसक्ने डा. बमले बताए। ‘हामी यही कुरा खानु भन्दैनौं। सक्दो रूपमा सन्तुलित खाना खान छोड्नुहुँदैन,’ उनले भने।  

तर डेंगी संक्रमितले बढी चिल्लो, मदिरा, चुरोटजस्ता खान नहुने कुनै पनि खानेकुरा प्रयोग गर्न नहुने चिकित्सकको सुझाव छ। ‘खान नहुने कुनै पनि कुराबाहेक सामान्य खाने कुरा बिरामीले खान मिल्छ,’ डा. पुनले भने ।

प्रकाशित: २५ आश्विन २०७९ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App