२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

इलाममा क्यान्सर उपचार गराउन सिफारिस लिनेको संख्या धेरै

जिल्लामा कडा रोगको उपचार सिफारिस लिनेमध्ये क्यान्सरपीडितको संख्या सबैभन्दा बढी देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका स्वास्थ्य संस्थाबाट कडा रोगीका २ सय ८८ जनाले सिफारिस लिएकामा क्यान्सरका बिरामीको संख्या १ सय ६३ छ।  

सदरमुकाम रहेको इलाम नगरपालिकामा ४८, माई नगरमा ११, देउमाईमा १९, सूर्याेदयमा ३४, सन्दकपुरमा ९, माइजोगमाईमा ५, माङ्सेबुङमा २, रोङमा १९, चुलाचुलीमा १४ र फाकफोकथुममा २ जनाले क्यान्सरको उपचारका लागि सिफारिस लिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो तथ्यांक उपचारका लागि सिफारिस लिनेहरूको मात्रै भएपनि जिल्लामा क्यान्सरका बिरामीको संख्या चाहिँ अझ धेरै छ।  

कार्यालयकी सूचना अधिकारी रीता अधिकारीले क्यान्सरबाट बिरामी र मृत्यु भएकाको संख्या अनौपचारिक रूपमा धेरै सुन्ने गरिएको बताइन्। ‘क्यान्सरबाट इलाममा कति मानिस पीडित छन् भन्ने यकिन तथ्यांक छैन तर सहर र गाउँमा क्यान्सरबाट मृत्यु भएका र बिरामीको संख्या धेरै रहेको सुनिन्छ,’ उनले भनिन्, ‘क्यान्सरबाट पीडित भएका बिरामी अस्पतालमा जाँच पनि गराइरहेका छन्।’

चिकित्सकका अनुसार अहिले जिल्लामा सर्नेभन्दा नसर्ने रोगीको संख्या बढ्दोक्रममा छ। यसमा क्यान्सरका बिरामीको संख्या पनि कम नभएको इलाम अस्पतालका चिकित्सक डा.डालिम काफ्ले बताउँछन्। क्यान्सरकै कारण पीडित र मृत्यु भएकाको अवस्था हेर्दा पुरुषमा फोक्सो, छाला र प्रोस्टेड तथा महिलामा स्तन क्यान्सर बढी देखिएको उनको भनाइ छ।  

‘कुन अंगमा क्यान्सरको संक्रमण छ भन्नेबारे चाहिँ मानिसको सामाजिक अवस्था, लवाइखवाइ, दिनचर्या–बानीलगायतले प्रभाव पार्छ,’ डा.काफ्लेले भने, ‘इलाममा चाहिँ स्तन, फोक्सो, ठूलो आन्द्रा, मलद्वारभन्दा अलि माथिको भागको क्यान्सरका बिरामी अलि बढी उपचारमा आइरहेका छन्।’  

डा.काफ्लेका अनुसार क्यान्सरको कारण सबै बिरामीमा एउटैखालको हुँदैन। ‘कुनै बिरामीमा भाइरसका कारण संक्रमण भएर त्यसले कोष परिवर्तन गरिदिन्छ अनि क्यान्सर हुन्छ, कसैमा खानानली, पेटको क्यान्सर हुन्छ,’ उनले भने, ‘खानानली र पेटको क्यान्सर खानाका कारण भएको हुनसक्छ, ठूलो आन्द्राको क्यान्सर जिनका कारण पनि हुनसक्छ।’  

इलाममा चाहिँ क्यान्सरको अवस्था कस्तो छ भन्ने विषयमा अध्ययन नभएकाले तथ्यांक भन्न नसकिने अवस्था रहेको उनले जनाए। ‘के कारणले क्यान्सर भइरहेको छ भन्नलाई पनि हामीसँग पर्याप्त अध्ययन नै भएको पाइँदैन,’ उनले भने, ‘तर, समग्रमा जीवनशैली, वंशाणुगत, खानपान र संक्रमण नै क्यान्सरको मुख्य कारण देखिन्छ।’

आव ०७८/०७९ मा जिल्लाबाट उपचारका लागि सिफारिस लिनेमा मृगौला रोगीको संख्या ५९ छ। इलाम नगरमा ९, माई नगरमा ७, देउमाईमा ५, सूर्याेदयमा १०, सन्दकपुरमा ६, माइजोगमाईमा ५, माङ्सेबुङमा ४, रोङमा ७, चुलाचुलीमा २ र फाकफोकथुममा ४ जनाले मृगौलाको उपचारका लागि सिफारिस लिएको तथ्यांक छ। यो अवधिमा ४९ मुटुरोगी, ६ हेड इन्जुरी र ७ स्पाइनल इन्जुरीका बिरामीले उपचारका लागि सिफारिस लिएको कार्यालयका विमल बरालले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०७९ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App