७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डेंगी नियन्त्रणमा सरकार उदासीन

संक्रमित २४ हजार नाघे, २९ जनाको ज्यान गयो

नेपालमा साउनदेखि सुरु भएको डेंगी संक्रमण दुई महिना बितिसक्दा पनि नियन्त्रण हुन नसकेको विज्ञहरूले औंल्याएका छन्। देशभरि संक्रमितको संख्या २४ हजार ४ सय ९२ पुगेको छ। साउनयता डेंगी संक्रमणबाट २९ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ७५ प्रतिशत अन्य रोग नभएका व्यक्ति रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  

प्रदेशगत आधारमा हेर्दा वाग्मतीमा १९ हजार, लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश नम्बर १ मा ७ सय ५३, गण्डकीमा ५ सय ३७, कर्णालीमा २ सय ३० र मधेसमा २ सय २३ जना संक्रमित भएका छन्। ७६ जिल्लामै डेंगी संक्रमित देखिए पनि १० वटा जिल्लामा संक्रमण तीव्र रहेको महाशाखाले जनाएको छ। महाशाखा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, चितवन, मकवानपुर, दाङ, रूपन्देही, गुल्मी र कैलाली डेंगीबाट बढी प्रभावित छन्।

डेंगी संक्रमण नियन्त्रणका लागि महाशाखाले स्थानीय तह, जिल्ला र सबै प्रदेशमा पैरबी तथा सूचना सम्पे्रषण गरेको र डेंगी परीक्षणका लागि आवश्यक किट आपूर्ति गरिरहेको दाबी गरेको छ। तर डेंगी संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा प्रमुख  डा. शेरबहादुर पुनले डेंगी संक्रमण नियन्त्रणका लागि सुरुमै सरोेकारवालाले लामखुट्टेको बासस्थान खोजी नष्ट गर्न बेवास्ता गरेको हुँदा अहिलेको अवस्था आएको बताए। ‘लामखुट्टे र लार्भा नष्ट गर्नेतिर नगईकन स्थानीय सरकारको ध्यान घर भत्काउनतिर गयो, मिडिया पनि त्यतै अल्झिएँ’, उनले भने। डेंगी संक्रमणका कारण हालसम्म भएको २९ जनाको मृत्युलाई सरकारले कोभिड–१९ को प्रकृतिसँग दाँजेर हल्का रूपमा लिएको अहिलेको प्रतिक्रियाबाट देखिएको उनले बताए। जनस्वास्थ्यका हिसाबले डेंगी संक्रमणबाट भएको मृत्यु कोरोनाले भन्दा अत्यन्त कम भए पनि चिकित्सकीय दृष्टिकोणबाट एक बिरामीको मृत्यु हुनु पनि उपचार सेवा असफल भएको भन्ने अर्थमा बुझिने पुनले बताए। ‘एक बिरामीको मृत्यु पनि उपचार सेवा असफल हुनु हो, सरकारले डेंगी संक्रमणबाट स्वस्थ व्यक्तिको मृत्यु भएको विषयलाई पनि हल्का रूपमा लिएको देखियो,’ उनले भने।  

नेपालमा डेंगीका कारणले पहिल्यै जटिल रोग लागेका व्यक्तिभन्दा पूर्ण स्वस्थ धेरैको मृत्यु भएको महाशाखाको अध्ययनबाट पुष्टि भएको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डा. गोकर्ण दाहाल संघीय सरकारले समयमै डेंगी नियन्त्रणका लागि नियमसहितको पैरबी सूचना बैठक सम्पन्न गरिसकेको भए पनि स्थानीय सरकारले प्रभावकारी कदम नचाल्दा यसले महामारीको रूप लिएको दाबी गरे। दाहालका अनुसार डेंगी नियन्त्रणका लागि एक दिनमात्र लामखुट्टे र लार्भा नष्ट गरेर पुग्दैन, यसका लागि अभियान नै चलाउनुपर्नेमा स्थानीय सरकारले सीमित कार्यक्रम मात्र गरेको पाइएको छ। ‘एक दिन समूहमा जम्मा भएर, फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दैमा डेंगी नियन्त्रण हुँदैन’, उनले भने।  

डेंगी संक्रमण फैलाउने लामखुट्टे घर, कलेज, स्कुल, कार्यालय, रेष्टुराँलगायत सबै ठाउँमा भएकाले नष्ट गर्न निरन्तर अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। अहिले डेंगीका लागि अनुकूल मौसम भएकाले थप डेढ महिना लामखुट्टे नियन्त्रण अभियान जारी राख्नुपर्ने उनले बताए। ‘एकपटक सफा गरेको ठाउँमा फेरि पानी जम्मा भयो भने लामखुट्टेको लार्भा पुनः हुर्किन्छ, यो कारण सातामा कम्तीमा एकपटक लार्भा खोजी गरी नष्ट गर्नुपर्छ’, उनले भने। सरकारले समयमै डेंगी नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमण तीव्र बन्दै गएको डा. पुनले बताए। उनका अनुसार अहिलेको डेंगी भाइरस ‘सेरोटाइप’ भएर आउने सम्भावना रहेकाले थप भयावह अवस्था उत्पन्न हुन सक्छ। संघीय सरकार, स्थानीय सरकार, स्थानीय युवा क्लब, सामाजिक संघसंस्था सबैको प्रभावकारी अभियानबाट मात्रै डेंगी नियन्त्रण सम्भव भएको उनले बताए।

प्रकाशित: १० आश्विन २०७९ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App