२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ। समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन। तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे पनि बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार डेंगीको आशंका हुनेबित्तिकै चिकित्सकको सल्लाहसुझावअनुसार चल्नुपर्छ।  

वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा  कुनै जटिल दीर्घरोग थिएन। तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा. अनुपमा कार्कीले बताइन्। ‘समयमै आएर उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्ति मरिहाल्ने स्थिति रहँदैन,’ उनले भनिन्। बुधबार नै उक्त अस्पतालमा यो वर्ष डेंगी संक्रमण सुरु भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये एक संक्रमितमा अन्य रोग नभएका रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। मृत्यु हुनेमा २७ वर्षीय युवकमा डेंगीबाहेक अरु रोग थिएन। यो अस्पतालमा डेंगीबाट मृत्यु हुनेमा ३५ वर्षीय पुरुष पनि छन्। उनी भने पहिल्यै कलेजोका रोगी थिए। हालसम्म नेपालमा डेंगीका कारण २० जनाको मृत्यु भइसकेको छ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीबाट एक साताअघिसम्म मृत्यु भएका ११ जनामध्येमा सातजना डेंगी संक्रमणकै कारणले मात्र मृत्यु भएको पाइए पनि अन्य चारजना भने अन्य रोगबाट पनि ग्रसित थिए। महाशाखाका प्रवक्ता डा. गोकर्ण दाहालका अनुसार मृत्यु हुनेहरू ढिला उपचारमा पुग्नु नै मुख्य कारण रहेको देखिन्छ।

चिकित्सकका अनुसार डेंगी संक्रमण भए कुनै विशेष औषधि छैन। तर यसले शरीरमा उत्पन्न गराएको नयाँ समस्याको उपचार समयमै गरे सामान्य स्वास्थ्य भएका बिरामीको मृत्यु भइहाल्ने स्थिति नहुने उनीहरू बताउँछन्। डेंगी संक्रमणको जटिलताले मिर्र्गौला बिग्रिने, छाती या पेटमा पानी जम्ने र शरीरबाट रक्तश्राव हुने गर्छ। यी जटिल समस्या भए जटिलताअनुसार समयमै उपचार गरे बिरामी निको हुने सम्भावना बढी हुन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनका अनुसार टाउको दुख्ने, बान्ता हुने, आँखाको गेडी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिनेबित्तिकै बिरामी अस्पताल जानुपर्छ।

‘निको नहुने बेलासम्म निरन्तर चिकित्सकको निगरानीमा रहनुपर्छ, कतिपय डेंगी बिरामीमा जटिल अवस्था देखिन्छ,’ डा. पुनले भने।

कतिपय बिरामी सामान्य लक्षण देखिएर निको हुने र कतिपयमा लक्षण नै नदेखिने कारण भ्रममा परी ढिला अस्पताल पुग्ने गरेको वीर अस्पतालकी सहायक निर्देशक डा. कार्कीले बताइन्। ‘लक्षण नदेखिएरै अरू निको भएको देखेर कतिपय बिरामी ढिला गरी मात्र अस्पताल आउँछन् तर धेरै कुरा बिग्रिसकेको हुन्छ,’ उनले भनिन्। लक्षण देखिएको पाँच दिनभित्र अस्पताल पुगे पनि जटिल समस्या आउनुअघि नै उचित उपचार सम्भव हुने उनको भनाय छ। ‘लक्षण देखिनेबित्तिकै पहिला अस्पताल पुग्ने र रोग पहिचान गर्ने, त्यसपछि निरन्तर चिकित्सकको निगरानीमा बस्ने गर्नु उचित हुन्छ,’ डा. पुनले भने। नेपालमा कात्तिकसम्म डेंगी सार्ने लामखुट्टे जीवित रहने र यसले लार्भा फैलाइरहने भएकाले थप एक महिना सचेत हुनु आवश्यक रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा भेक्टर बर्न शाखाका भेक्टर इन्सपेक्टर उत्तम प्याकुरेलले बताए।

अहिले पनि राजधानीका मुख्य अस्पतालहरूमा सयौंको संख्यामा डेंगी बिरामी भर्ना भई उपचारमा छन्। टेकु अस्पतालमा बिहीबारसम्म १०० भन्दा बढी डेंगी बिरामी भर्ना भई उपचाररत छन् भने १० जनालाई आइसियुमा राखिएको छ। ज्वरो क्लिनिकमा मात्र दैनिक २०० जना डेंगीको लक्षण भएका बिरामी उपचारमा पुग्ने गरेको छ। वीर अस्पतालमा पनि हरेक दिन १०० जना डेंगी बिरामी पुग्ने र १० देखि १३ जना भर्ना हुने गरेको जनाइएको छ। तीमध्ये औसतमा चारजनाको आइसियुमा उपचार गर्नुपर्ने अवस्था रहेको छ। टिचिङ अस्पतालमा पनि दैनिक १०० जना डेंगी बिरामी आउने गरेको र हाल ३०–३५ जनाले भर्ना भई उपचार गराइरहेको अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीले जानकारी दिए।

काठमाडौं मोडेल अस्पतालका  डाक्टर अभिनव दाहालका अनुसार  बहिरंग विभागमा दैनिक औसत ५० देखि ६० जना, आकस्मिक कक्षमा ३५ जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म नेपालभरिमा कुल संक्रमितको संख्या १६ हजार ५ सय ८७ पुगेको छ। तीमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा १२ हजार ४०१ जना छन्। त्यसपछि लुम्बिनी प्रदेशमा २ हजार ४ सय २२ जना संक्रमित छन्।  

प्रकाशित: ४ आश्विन २०७९ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App