coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बागलुङमा डेंगीले महामारीको रुप लिदै, १० दिनमा २० जनामा संक्रमण

फाइल तस्बिर

बागलुङमा डेंगीको संक्रमण महामारीकै रुपमा फैलिन थालेको देखिएको छ। पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगी संक्रमण पुष्टी भएको छ।

 स्वास्थ्य कार्यालय बागलुङकी निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टी भएकाले यो समस्या जटिल बन्नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताईन्। 

‘बागलुङमा असारदेखि डेंगीको संक्रमण देखिन थालेको हो,’ उनले भनिन्,’ असारमा ३ जना र साउनमा ३ जनामा संक्रमण देखिएको थियो। अहिले भदौ महिनाको २९ गतेसम्म मात्रै २६ जनामा संक्रमण देखिइएको छ। यसप्रति सचेत नभए महामारीकै रुपमा आउनसक्छ।’  

उनले सबै निकायबीचको समन्वय र सहकार्यबाट यसलाई नियन्त्रण गर्न सकिने बताईन्। ‘सबै क्षेत्रले आ—आफ्नो ठाउँबाट भूमिका खेल्न सके नियन्त्रण गर्न सकिन्छ,’ उनले भनिन्,‘नभए यो समस्याको रुपमा अगाडि आउनसक्छ।’ डेंगीको ठ्याक्कै उपचार पद्धति नभएका कारण पनि यसबाट बच्नुपर्ने उनको भनाई छ।

 ‘डेंगीको ठ्याक्कै उपचार छैन,’ उनले भने,‘यो भाईरसबाट लाग्ने रोग भएका कारण लाग्नबाट जोगिनु नै मुख्य उपाय हाे।’ डेंगी रोक एडिज जातको लामखुट्टेको टोकाईबाट सर्छ। संक्रमित व्यक्तिलाई टोकेको लामखुटटेले स्वस्थ व्यक्तिलाई टोक्दा यो भाईरस सर्ने र जटिल खालको स्वास्थ्य समस्या समेत देखिने उनले बताईन्।  

धौलागिरि अस्पतालकी फिजिसियन कन्सल्टेन्ट डा. रायना श्रेष्ठका अनुसार बागलुङमा विशेषगरी काठमाडौंबाट आएकाहरुमा डेंगीको संक्रमण देखिएको छ। ‘धेरै जसो काठमाडौबाट आउनेहरुमा यो समस्या देखिएको छ,’ उनले भनिन्,‘पछिल्ला दिनहरुमा ट्राभल हिस्ट्री नभएकाहरुमा पनि  देखिन थालेकाले हाम्रो समाजमा पनि यो फैलिएको हुनसक्ने अवस्था छ। सबै सचेत हुनुपर्छ।’ पछिल्लो १० दिनमा मात्रै बागलुङमा २० जनामा संक्रमा देखिएकाले खतराको घण्टी बजिसकेको उनको भनाई छ। डेंगीबाट बच्नका लागि व्यक्तिगत सतर्कता नै मुख्य उपाय भएको उनले बताईन्।

‘विशेषगरी बिहानको समयमा घाम झुल्किसकेपछिको समयमा एडिज जातको लामखुट्टेले टोक्दा यो भाईरसको संक्रमण हुने सम्भावना बढि हुन्छ,’ उनले भनिन्,‘लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो।’ 

पुरै शरिर छोपिनेगरी कपडा लगाउने, झुल लगाएर बस्ने, नजिमा रहेको लामखुट्टेले लार्भा उत्पादन गर्नसक्ने पानी जमेका ठाउँहरु पुर्ने र सुख्खा बनाउने हो भने डेंगी नियन्त्रण गर्न सकिने उनले बताईन्। डेंगीको संक्रमण भएका टाउको दुख्ने, हप्तादिनसम्म ज्वरो आउने, वान्ता हुने लगायतका समस्या देखिने उनले बताईन्। यस्तो बेलामा झोलिलो र तागतिलो कुराहरु बढि खानुपर्ने उनको भनाई छ।

डेंगी परिक्षणका लागि टेष्ट किटहरु पर्याप्त मात्रामा उपलब्ध नभएका कारण परीक्षणमा पनि समस्या भएको छ। प्रसस्त किटहरुन भएका कारण पालिकामा किट पठाउन नसकिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। अहिले पालिकालाई टेष्ट किट किनेर परीक्षण गर्न भनिएको स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।  

लामखुट्टेबाट ९ प्रकारका रोगहरु सर्ने र ती सबै रोग सार्ने लामखुट्टेको प्रजाति बागलुङमा पाईएकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्न थालिएको कार्यालयको भनाई छ।  

प्रकाशित: ३१ भाद्र २०७९ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App