१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डेंगीका बिरामी ११ हजार नाघे

नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। साउनयता बुधबारसम्म देशभरिमा डेंगीका बिरामीको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७५ जिल्लामा फैलिएको डेंगी संक्रमणका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू ११ वर्षमाथि सबैखाले उमेर समूहका रहेको जनाइएको छ। मृतकमा अन्य कडा या दीर्घ रोग थियो कि थिएन भन्ने पुष्टि हुन बाँकी रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको कीटजन्य रोग शाखाका भेक्टर इन्स्पेक्टर उत्तम प्याकुरेलले जानकारी दिए।  

डेंगी सबैभन्दा बढी वाग्मती प्रदेशमा फैलिएको छ। तथ्यांकअनुसार वाग्मतीमा डेंगीका बिरामीको संख्या ८ हजार ३ सय ९० जना पुगेको छ।  

लुम्बिनीमा १ हजार ४ सय २१ जना, प्रदेश १ मा ३ सय ४७ जना र सुदूरपश्चिममा ३ सय २३ जनामा डेंगी संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएके छ। मधेस प्रदेशमा १ सय ९८ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा कम कर्णालीमा १ सय ६२ जना बिरामी देखिएका छन्। डेंगी नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ कार्यक्रम जारी राखे पनि नियन्त्रणमा आउन सकेको छैन। अहिले अस्पतालहरूमा डेंगीका बिरामी भरिभराउ भएको जनाइएको छ।

सिभिल अस्पतालका अनुसार बिहीबार मात्र १ सय ९५ जना डेंगीका बिरामी मात्र भर्ना भएका छन्। त्यहाँको ज्वरो क्लिनिकमा ५० जना डेंगीका बिरामी उपचारका लागि पुगेको आकस्मिक कक्ष प्रमुख प्राध्यपक डा. दिनेशकुमार लम्सालले बताए। उनका अनुसार अस्पतालमा आएका बाहेक घरका अन्य परिवारमा पनि डेंगी संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ। यसरी आकलन गर्दा काठमाडौंमा कम्तीमा १० लाख जनामा संक्रमण भइसकेको उनको भनाइ छ। ‘लक्षण नभएका सामान्य ज्वरो मात्र आएकाको डेंगी परीक्षण भएकै छैन,’ उनले भने, ‘यस हिसाबले देशभरिमा लाखौं संक्रमित भएको हुन सक्छ।’

सरकारले थोरै संक्रमित हुने बेलामै हेलचेक्र्याइँ गरेकाले अहिलेको भयावह स्थिति आएको डा. लम्सालको भनाइ छ। ‘सरकारले बल्ल लार्भा खोजी गरी नष्ट गर्न सुरु गरेको छ। यो काम दुई महिनाअघि नै सुरु भइसक्नुपथ्र्यो,’ उनले भने। अब पनि कोरोना महामारीजस्तै डेंगी संकटकाल घोषणा गरेर उपचार र रोकथाममा लाग्नु उपयुक्त हुने सुझाव उनले दिए। उपत्यकामा डेंगी थप एक महिना जारी रहने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। ‘केही वर्षपहिले पुससम्म पनि डेंगी देखिएको थियो,’ उनले भने।

बिहीबारदेखि अस्पतालमा डेंगीको जस्तै समस्या लिएर आउने बिरामीको संख्या अघिल्ला दिनहरूमा भन्दा केही कम देखिएकाले संक्रमित संख्या चुचुरोबाट तलतिर झर्न थालेको हुन सक्ने डा. पुनको अनुमान छ। ‘केही दिन हेरौं, अहिलेको भन्दा कम दरमा संक्रमण जारी रहन पनि सक्छ,’ उनले भने।

प्रकाशित: ३० भाद्र २०७९ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App