१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वायु प्रदूषणले फोक्सोमा क्यान्सर

जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौंको मोटाइभन्दा पचासौं गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ।

यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन्। अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए। अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो।  

अध्ययन टोलीका प्रमुखसमेत रहेका फ्रान्सिन क्रिक इन्स्टिच्युटका प्राध्यापक चाल्र्स स्वान्टनका अनुसार खनिज इन्धन बाल्दा हुने उत्सर्जन जलवायु परिवर्तनका लागिसमेत जिम्मेवार रहेको र यस प्रकारको उत्सर्जनले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको बताए। उनले यसअघि खास ध्यान नदिइएको फोक्सोका कोषिकामा हुने क्यान्सरका लागि वायु प्रदूषण जिम्मेवार रहेको बताए। ‘चुरोट सेवनको तुलनामा वायु प्रदूषणका कारण क्यान्सरको जोखिम अलि कम भए पनि हामीले फेर्ने हावामा हाम्रो कुनै नियन्त्रण छैन’, उनले भने।

विश्वव्यापी रूपमा चुरोट सेवन गर्दा निस्कने विषाक्त रसायनको तुलनामा अधिक जनसंख्या वायु प्रदूषणको जोखिममा रहेकाले विश्वले मानव स्वास्थ्यका लागि जलवायुको स्वास्थ्य ख्याल गर्नुपर्ने तर्क उनको छ। अध्ययनले वायु प्रदूषणले क्यान्सर हुनबाट जोगाउन भूमिका निर्वाह गर्ने ह्वाइट ब्लड सेललाई प्रभाव पार्ने देखाएको छ। फोक्सोका खास कोषिकामा हुने उत्परिवर्तनले किन क्यान्सर निम्त्याउँछ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको अध्ययनको निष्कर्ष छ।  

यो वर्षको सुरुमा गरिएको एक अध्ययनले वायु प्रदूषणका कारण प्रतिवर्ष विश्वमा १८ लाख मानिसको मृत्यु हुने गरेको देखाएको छ। वायु प्रदूषणका कारण क्यान्सर हुने यसअघि पनि पत्ता लागे पनि पछिल्लो अध्ययनले थप पुष्टि गरेको छ। अध्ययन नतिजा पेरिसमा आयोजना गरिएको युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी बैठकमा हालै सार्वजनिक गरिएको हो। (इन्डेपेन्डेन्टबाट साभार)

प्रकाशित: २७ भाद्र २०७९ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App