१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हेटौंडामा डेंगुका बिरामी बढे, लार्भा नष्ट गर्ने अभियान तीव्र

हेटौंडाको ग्यारेज क्षेत्रमा राखिएको टायर नष्ट गर्न लैजाँदै।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको बिरामी बढिरहेका छन्। चालु आर्थिक वर्षको यो अवधिमा ५५८ जनामा डेंगुको संक्रमण पुष्टि भैसकेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९५ जनामा डेंगुको संक्रमणमा भएको थियो।

विशेषगरी हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा डेंगुको संक्रमण बढी रहेको पाइएको छ। हेटौंडा–४ मा २७६ जना र ५ नम्बर वडामा ७६ जनामा डेंगु संक्रमण फेला परेको छ। जिल्लाको अन्य पालिकामा भने डेंगु संक्रमणको अवस्था निकै न्यून रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा–४ मा डेंगुका बिरामी उपचार पछि निको भएर पनि पुनः दोहोरिएर संक्रमण भएको तथ्यांक समेत फेला परेको छ। डेंगुको संक्रमण बढेपछि हेटौंडा उपमहानगरपालिकाले संक्रमण नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीव्रताका साथ अघि बढाएको छ।

उपमहानगरले हेटौंडाका सबै वडामा अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मीसहित सरोकारवालाको अगुवाइमा अभियान सञ्चालन गरिरहेको छ। हेटौंडा बजार क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले सुरु गरेको अभियानमा विभिन्न संघसंस्था, प्रहरी तथा युवाहरुले सक्रिय सहभागिता जनाएका छन्।

उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरसंगको समन्वयमा अभियान सुरु गरेको हो। नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने र आवश्यकता अनुसार स्प्रे छर्ने अभियानलाई तीव्र पारिएको हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।

'पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा डेंगुको संक्रमण बढेको पाएपछि हामीले रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान नै सञ्चालन गरिरहेका छौं’, लामाले भनिन्, ‘यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न सरोकारवाला निकायले सक्रियतापूर्वक सहभागिता जनाइरहेको छ। संक्रमण दर घटाउँदै डेंगु नियन्त्रण गर्ने अभियानमा रहेका छौं।’

डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकोले सफा पानी जम्न सक्ने स्थान, साधनका टायर, गमला लगायत ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिएको छ। उपमहानगरले जनचेतना फैलाउन सूचना समेत जारी गरेको छ। हेटौंडाको ४ नम्बर वडा क्षेत्रका मोटर ग्यारेज तथा मोटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयोग नआउने टायरहरु नष्ट गरिएको छ।

प्रकाशित: २० भाद्र २०७९ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App