८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रतिष्ठानमा निःशुल्क सेवा सुरु भएपछि प्रसुती गराउनेकाे संख्या बढ्याे

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क प्रसुती सेवा दिन थालेपछि गत साउन महिनामा सबै भन्दा बढी २ सय ८३ जनाले निःशूल्क प्रसुती सेवा लिएका छन्।

प्रतिष्ठानले गत वैशाख महिनादेखि निःशुल्क प्रसुती सेवा दिन सुरु गरेको हो। निःशुल्क प्रसुती सेवा प्रदान गरेपछि अहिले प्रसुती सेवा लिन आउनेहरुको संख्या बढ्दै गएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।

यो निःशुल्क सेवा सुरु गरे यता ९ सय जनाले निःशुल्क प्रसुती सेवा पाएका छन्। जस अनुसार ५ सय ८८ जना महिलाले सामान्य सेवा र ३ सय ७९ जना महिलाले जटिल प्रकृतिको प्रसुती सेवा पाएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त लामीछानेले बताए।

उनले प्रसुती सेवा लिन आउनेहरुको संख्या बढ्नुलाई निःशुल्क सेवा भएर मात्रै नभइ भरपर्दो सेवा समेत भएको बताए। ‘आइसियु, भेन्टीलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहित विशेषज्ञ चिकित्सक थपेका छौँ,’ थापाले भने ‘यसर्थ पनि प्रतिष्ठानमा प्रसुती सेवा लिन आउने महिलाहरुको संख्यामा वृद्धि हुँदै गैरहेको छ।’

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले आफू प्रतिष्ठानको नेतृत्वमा आएपछि प्रसुती सेवा निःशुल्क गर्ने पहिलो निर्णय गरेका थिए। साथै प्रतिष्ठानले सिमित स्रोत साधनको वावजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा रहेको पनि थापाले जानकारी दिए। प्रतिष्ठानमा अहिले मात्रै दैनिक ७ सयको हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन्।

प्रकाशित: ३१ श्रावण २०७९ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App