coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण दर उकालोतिर

नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पछिल्लो २४ घण्टामा अर्थात् सोमबार परीक्षण गरिएकामध्ये १५.४ प्रतिशतमा संक्रमण देखिएको छ। गत २४ घण्टामा परीक्षण भएका ५ हजार ९ सय ९ वटा नमुनामध्ये ८ सय ९५ जनामा कोरोना पुष्टि भएको हो। आइतबार ६ सय २० जना संक्रमित भएका थिए।  

नमुना परीक्षण संख्या भने औसतमा ५ हजारकै हाराहारीमा रहेको छ। आइतबार ५ हजार ८ सय ४६ वटा नमुना परीक्षण गरिएका थिए। संक्रमितको संख्या शनिबार ४ सय ३८ थियो भने शुक्रबार ५ सय ७७ पुगेको थियो। बिहीबार भने यो संख्या १ सयभन्दा बढी ७ सय १० जना संक्रमित छन् भने बुधबार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको थियो। मंगलबार संक्रमित संख्या ६ सय ३८ र अघिल्लो सोमबार अर्थात एक साताअघि ५ सय ६८ जना छन्।  

एक सातायताको संक्रमित संख्या हेर्दा गत शनिबार ५ सयभन्दा कम र अन्य दिन ५ सयदेखि ६ सय ५० भित्रको संख्यामा संक्रमित बढी भएको देखिन्छ। सातामा दुई दिन गत बिहीबार ७ सय १० जना गत २४ घण्टामा ९ सयको हाराहारीमा संक्रमित थपिएका हुन्। यो हिसाबले हेर्दा यो साताभित्र दैनिक रूपमा संक्रमितको दर वृद्धि हुँदै गएको छ।  

दैनिक संक्रमित संख्यामा वृद्धि भए पनि अस्पताल भर्ना हुने कोरोना संक्रमित संख्यामा भने ठूलो अन्तर आउन सकेको छैन। गत सोमबार अस्पतालमा भर्ना हुनेको संख्या १ सय २७ देखि १ सय ५६ पुगेको छ। संक्रमितहरू अस्पताल भर्ना हुनेको संख्या भने खासै वृद्धि भएको छैन। यो साताभित्र १२ जनाको मृत्यु भएको छ। सोमबारसम्ममा देशभरिमा कुल सक्रिय संख्या ४ हजार ९ सय ३४ पुगेको छ। यो हिसाबले मंगलबारसम्ममा सक्रिय संक्रमित संख्या ५ हजारभन्दा बढी हुने सम्भावना देखिन्छ भने साताभरिमा ५ हजार १० जना संक्रमित भएका छन्।  

संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी अस्पताल भर्ना हुने दर बढ्न सक्ने सम्भावना रहेको जनाएको छ। सोहीअनुसार सोमबार सातै प्रदेशका कोभिड अस्पतालको बारेमा सूचना दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार अहिले संक्रमण बढ्दै क्रममै नेपाल गुज्रिरहेको हुनाले थप केही समय वृद्धि दर जारी रहनेछ। यो क्रममा अस्पतालमा भर्ना दर बढ्ने सम्भावना रहेकोले सोहीअनुसार मन्त्रालयले देशभरिका अस्पताललाई तयारी अवस्थामा राखेको बताए।  

अहिलेको संक्रमण खोप लिएकामा पनि सर्ने भएकोले थप संक्रमण हुन नदिनका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्न र खोप नलिएकाले सक्दो छिटो खोप लिन, भिडभाडमा नजान अनुरोध गरेका छन्। ‘धेरै संक्रमित हुनु भनेको अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ्दै जाने सम्भावना रहन्छ,’ उनले भने।  

नेपालमा पछिल्लो कोरोना संक्रमणको दर नियाल्दा परिवारमा रहेका जति सबै संक्रमितको परीक्षण नभएकोले संक्रमित संख्या भएको भन्दा कम देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेर बहादुर पुनले बताए। ‘परिवारमा पाँच/सात जना संक्रमित छन् भने एक दुईजनाले मात्र परीक्षण गर्छन्, बाँकीले गदैनन्,’ उनले भने। पछिल्लो कोरोना संक्रमण ओमिक्रोनको उपप्रजातिको भएकोले यसको असर भारतमा जस्तै स्वरूपमा देखिएको बताए। ‘भारतमा पनि संक्रमित भएको संख्याअनुसार जनस्वास्थ्यमा गम्भीर असर गरेको देखिँदैन, नेपालमा पनि त्यही गतिमा गएको देखिन्छ,’ उनले भने। नेपालमा धेरैले खोप लिएको र ओमिक्रोनको उपप्रजाति आफैंमा डेल्टा जस्तो कडा नभएकाले पनि संक्रमित दरकोे तुलनामा अस्पताल भर्ना हुने र मृत्यु हुने दरमा कमी देखिएको उनको विश्लेषण छ। ‘थप धेरैजना संक्रमित हुन्छन्, तर डेल्टा संक्रमणमा जस्तो धेरै अस्पताल भर्ना हुने स्थिति रहँदैन,’ उनले भने।

प्रकाशित: १७ श्रावण २०७९ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App