६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

साउन लागेसँगै कर्णालीमा बढ्न थाले कोरोना संक्रमित

साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणदर फेरि बढ्न थालेको छ। केही महिनायता स्थिर रहेको संक्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार दैनिक सरदर छ/सात जनामा कोरोना संक्रमण देखिएको छ। निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना संक्रमित भेटिएको बताए।

'साउनदेखि प्रत्येक दिनजसो संक्रमित भेटिने गरेका छन्,' उनले भने, 'पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ।' निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन्।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश संक्रमित सुर्खेतका छन्। यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि संक्रमणदर देखिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरिएको छ।

संक्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन। पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ। वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ। एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ।

प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ। आइतबारसम्म सुर्खेतमा ३६ सक्रिय संक्रमति पुगेका थिए। संक्रमित सबै होम आइसोलेशनमा रहेका छन्। संक्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कता अपनाउनका लगि प्रेरित गर्न  भने सम्बन्धित निकायले ढिलाइ गरेका छन्। 

प्रकाशित: १६ श्रावण २०७९ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App