१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोप नलिने जोखिममा

गत साता कोरोना संक्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ। धेरैले सामान्य मानिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले मृत्युको मुखमा पुर्‍याउनुको खास कारण खोप नलिनु नै रहेको सहप्रवक्ता अधिकारीको दाबी छ।

‘अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन,’ उनले भने। ओमिक्रोन भेरियन्टले खोप लिएका पनि संक्रमित हुन सक्ने र नलिएकालाई त यसले झनै जटिल अवस्थामा पुर्‍याउने भएकाले दुवै समूह सचेत हुनुपर्ने अधिकारीले बताए। खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए।

‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्‍यो,’ उनले भने। नेपालमा कतिजनाले एक डोज पनि खोप लिएका छैनन् भन्ने विषयमा कुनै यकिन तथ्यांक छैन। एकातिर स्थानीय निकायले सबैले खोप लिइसकेको विवरण दिने गरेका छन् भने अर्कातिर कतिपयले एक डोज पनि खोप नलिएको स्थिति रहेको देखिएको चिकित्सकहरूको अनुभव छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुन कतिपयले गलत रूपमा प्रकाशित समाचारलाई आधार बनाएर खोप नलिँदा संक्रमणको पीडा खेपिरहनुपरेको बताउँछन्। ‘सामाजिक सञ्जालमा कतिपयले कोरोनाविरुद्धको खोपले असर गर्छ, लगाउनुहुँदैन भनेर भ्रम फैलाएको पनि देखिन्छ, जसको प्रभावमा परेर कतिपयले एक डोज पनि खोप नलिएको अवस्था छ,’ उनले भने।

खोप लिएर स्वास्थ्यमा कुनै पनि असर गरेको नपाइएकाले भ्रममा नपरी छुटेकालाई लगाउन पुनले सुझाए। परिवार कल्याण महाशाखाका अनुसार नेपालमा लक्षित जनसंख्याको ८८.३ प्रतिशतले एक मात्रा खोप लिएका छन् भने ८७.९ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन्। यो हिसाबले ११.७ प्रतिशत लक्षित जनसंख्याले एक मात्रा पनि खोप लिएको देखिँदैन। यसको अर्थ २७ लाख ४० हजार ५ सय ७८ जनाले एक मात्रा पनि खोप लगाएका छैनन्।  

थपिए ४३५ संक्रमित

बिहीबार देशभरि ४३५ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३ हजार ५ सय ६९ वटा नमुनामध्ये ४ सय ३५ मा कोरोना संक्रमण पुष्टि भएको हो। यो संक्रमणदर १२.१८ प्रतिशत हो, जुन संक्रमण दर अन्य दिनको तुलनामा उच्च हो।

नयाँसहित देशभरि सक्रिय संक्रमितका संख्या २ हजार ५ सय ३७ पुगेको छ। तीमध्ये २ हजार ३ सय ९६ जना होम आइसोलेसनमा छन् भने १ सय ४१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार गम्भीर लक्षण भएका १९ जनाको आइसियुमा उपचार भइरहेको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App