१ पुस २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

फैलियो ज्वरो र रुघाखोकी चिकित्सक भन्छन्: लक्षण भाइरलकै छ, परीक्षण गर्न सकिएको छैन

इलाम अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामी। तस्बिर: भीम/नागरिक

जिल्लाका सहर र गाउँ–गाउँमा ‘भाइरल’ फैलिएको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने र निमोनियाँ भएका बिरामी दिनहुँ बढिरहेका छन्। बिरामीको संख्या बढेपछि कतिपय स्वास्थ्य संस्थामा शैया अपुग हुन थालेको छ।  

अहिले जिल्लाका अधिकतर घरमा परिवारका एकदेखि सबै सदस्य बिरामी भइरहेका छन्। सदरमुकामस्थित इलाम अस्पतालसहित विभिन्न स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके) र वडाका स्वास्थ्य संस्थाहरूमा समेत भाइरलका बिरामीको चाप बढेको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छात्ती र घाँटी दुख्ने, जिउ शिथिल हुने लक्षण बिरामीमा देखिएको चिकित्सकले बताएका छन्। कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणसमेत देखिएको छ।  

इलाम अस्पतालको आकस्मिक कक्षमा समेत यही लक्षणका बिरामीको चाप दिनहुँ बढ्दो छ। आकस्मिक कक्ष इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक टीका लुइँटेलले भाइरलका बिरामी अधिक आइरहेको बताए। ‘अस्पतालमा दिनहुँ आउने २ सय हाराहारी बिरामीमध्ये ८० देखि सय जनामा एउटै लक्षण देखिएको छ,’ उनले भने, ‘कतिपयमा निमोनियासमेत देखिएको छ। बिरामीको अवस्था जटिल चाहिँ छैन।’ उनले सातायता अस्पतालमा एकैखाले लक्षण भएका बिरामीको संख्या बढेको बताए। ‘अस्तिसम्म बिरामीको चाप कम थियो, अहिले बढेको छ,’ उनले भने, ‘उनीहरूको रगत, पिसाब, छात्ती जाँच गरेर आवश्यक औषधि दिँदैछौं।’ बिरामीमा कोभिड–१९ सँग मिल्दो लक्षण देखिएपनि केहीको नमुना परीक्षण गर्दा पुष्टि चाहिँ नभएको उनले बताए।  

अस्पतालका डा.डालिम काफ्लेले अहिले धेरै बिरामीमा एउटै लक्षण देखिनुको कारण भाइरस नै भएपनि भाइरल जाँच चाहिँ हुन नसकेको बताए। ‘अहिले एकैखाले लक्षण भएका बिरामीको अवस्था हेर्दा यो भाइरल नै हो भन्ने चाहिँ छ तर कुनै केसमा भाइरसको जाँच हुन सकेको छैन,’ उनले भने, ‘भाइरस जाँचबारे स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने प्रयास भइरहेको छ।’  

जिल्लामा भाइरस जाँच गर्ने पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेसिन नहुँदा भाइरल पुष्टि भने हुन नसकेको हो। यहाँबाट लिइएको नमुनाको पिसिआर परीक्षण गराउन झापा, विराटनगर वा धरान पुर्‍याउनुपर्ने बाध्यता छ। ‘यहाँबाट बिरामीको नमुना पठाउन चाहिने पदार्थ (भिटिएम) पनि नभएकाले भाइरस जाँच हुन सकेको छैन,’ डा.काफ्लेले भने, ‘तर, सबै लक्षण र अवस्था हेर्दा यो भाइरल चाहिँ हो भन्न सकिन्छ।’  

जिल्लाको माई नगरपालिकास्थित अस्पताल भाइरलका बिरामीले भरिएको छ। १५ शैड्ढयाको अस्पतालमा १० शड्ढया सञ्चालनमा छन्। अब आउने बिरामीलाई शड्ढया नभएको अस्पताल प्रमुख डा.रामकृष्ण आचार्यले बताए। ‘अस्पतालका शड्ढया नपुगेकाले अरूतिरै राखेर बिरामीको उपचार गरिरहेका छौं,’ उनले भने, ‘बिरामीको अवस्था हेरी लक्षणात्मक उपचार गरेका छौं।’ डा.आचार्यले अस्पतालमा दिनहुँ सय बिरामी आउनेगरेको बताए।  

उनका अनुसार भाइरलको लक्षण देखिएपछि घरमा बसिरहनु उचित हुँदैन। बेलैमा अस्पताल गएर उपचार गराइ औषधि लिन उनको सुझाव छ। ‘भाइरलको लक्षण देखिएका बेला शरीरको प्रतिरक्षा प्रणाली कमजोर भइ अरू संक्रमण बढ्न सक्छ,’ उनले भने, ‘त्यसैले बेलैमा अस्पताल जानुपर्छ।’ उनले बर्खायाममा खेतबारीमा काम गर्दा चिसोका कारण भाइरसको संक्रमण भएको हुनसक्ने बताए। ‘फोहोर, हिलो, धुलो–धुवाँका कारण भाइरल बढेको हुनसक्छ,’ उनले भने, ‘प्रायः लामो समय खेतमा काम गरेपछि किसानहरू बिरामी भएर उपचार गर्न आइरहेका छन्।’ भर्खरै स्थापना भएको अस्पतालमा अहिले जनशक्ति अपुग रहेको तर जेनतेन सेवा दिइरहेको उनले जनाए। ‘औषधि पनि सामान्य अभाव छ तर काम चलाइरहेका छौं,’ उनले भने।  

जिल्लाका चारै प्रास्वाकेमा भाइरलको लक्षण भएका बिरामीको चाप बढेको छ। देउमाई नगरपालिकाको मङ्गलबारेमा दिनहुँ २ सय बिरामी आउनेगरेकामा भाइरलको लक्षण भएका बिरामीको संख्या आधा छ। अस्पतालका सिनियर अहेव नारायण राउतले उही लक्षण देखिएर एकैघरका ६ जनासम्म बिरामी भएको बताए। ‘बिरामीहरूमा कोभिड–१९ जाँच गर्दा रिपोर्ट नेगेटिभ देखियो,’ उनले भने, ‘बिरामीको लक्षण हेरेर त्यहीअनुसार उपचार गर्दैछौं।’ उनका अनुसार बिरामीमा १ सय ४ डिग्री फरेनहाइटसम्म ज्वरो देखिएको छ।  

यो प्रास्वाकेमा अहिले डाक्टरको अभाव छ। दुई डा.रहेकामा एक जना गत वैशाखयता अध्ययन बिदामा छन् भने अर्का एक जनाको करार अवधि सकिएको छ। ‘डाक्टर अभाव भएपनि हामीले दिनसक्ने सेवा दिइरहेका छौं,’ राउतले भने, ‘तर, सिनियर डाक्टर भएजस्तो चाहिँ नहुनेरहेछ।’ उनका अनुसार औषधिको चाहिँ खास समस्या छैन।  

फिक्कलस्थित प्रास्वाकेका चिकित्सक डा.सागर पन्थीलाई केही दिनअघि यस्तै लक्षण देखियो। कोभिड–१९ जाँच गराउँदा पोजिटिभ देखायो। ‘तर, जुन बिरामीबाट मलाई कोभिड सरेको आशंका थियो, उनको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो,’ डा.पन्थीले भने, ‘अहिले अस्पतालमा दिनहुँ १५ देखि २० जनासम्म यही लक्षणका बिरामी आइरहेका छन्।’ उनले बालबालिकालाई भाइरलले बढी असर गरिरहेको बताए। 

अस्पतालमा दिनहुँ १ सय ८० देखि २ सयसम्म बिरामी आउनेगरेका छन्। उनले भाइरल मौसमी हुने र फोहोर बढेका बेला यसको असर देखिने बताए। ‘भाइरलले प्रायः ७ दिनसम्म सिकिस्त बनाउन सक्छ,’ उनले भने, ‘सात दिनमा मानिसमा प्रतिरक्षा क्षमता निर्माण भएपछि त्यसको असर कम हुँदै जान्छ।’  

प्याङ र पशुपतिनगर प्रास्वाकेमा पनि भाइरलका बिरामीको चाप छ। प्याङ प्रास्वाकेमा अहिले २० जनासम्म बिरामी आइरहेकामा आधा संख्या भाइरलका बिरामीकै छ। ‘बिरामीमा अधिक ज्वरो आउने लक्षण देखिएको छ,’ प्रास्वाकेका डा.विजय देवले भने, ‘घर–घरमा पनि बिरामीको संख्या बढ्दो देखिएको छ।’  

भाइरलको प्रकोपबाट बच्न चिसोबाट जोखिनुपर्ने सुझाव चिकित्सकले दिएका छन्। इलाम अस्पतालका जनस्वास्थ्य निरीक्षक लुइँटेलले चिसो पानी नपिउन र तातोपानीको बाफ लिन सुझाए। ‘नुन–पानीले कुल्ला गर्ने, ज्वरो आएमा औषधि खाने गर्नुपर्छ। बिरामी भए अस्पताल पुग्नुपर्छ,’ उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ।’ उनले भाइरलका बिरामीमा रुघाखोकीको लक्षण देखिने, ज्वरो आउने र सातदेखि १० दिनमा निको हुने बताए।

प्रकाशित: ४ श्रावण २०७९ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App